सबै बस्ने, अन्तिममा एक्लैले सबथोक कस्ने ?
राजनीतिक दलको निर्माण समान विचारधारा बोकेका मानिस मिलेर हुने हो । यो भन्नुको अर्थ हो त्यो राजनीतिक दलमा सबैको उत्तिकै वा भनौँ बराबरीको स्वामित्व र बराबरीकै अपनत्व रहेको हुन्छ । राजनीतिक दलका सदस्यबीच भिन्नता जिम्मेवारीमा मात्रै हो । तर, के अहिलेका राजनीतिक दलभित्र हामीले भनेजस्तै अवस्था विद्यमान छ त भन्ने प्रश्नले सबैलाई छट्पटीमा पारिदिएको छ ।
के देख्छौं भने हाम्रा सबैजसो राजनीतिक दल एक–दुई जना मूर्धन्यहरूको इशारामा चलिरहेका छन् । समान विचारधारा राख्नेहरूको सामूहिक आकांक्षा र सहमतिमा कुनै पनि राजनीतिक दल चलिरहेका छैनन् । एमालेको गत महाधिवेशनको समग्र प्रक्रियामा देखिएको दृश्य होस् कि माकेकोमा, तिनीहरू सबै एकव्यक्ति (अध्यक्ष)को आँखीभौंको इशारामा चलेको देखियो । अन्य दलको हकमा पनि यस्तै हो । खासमा त राजनीतिक दलको मातहतमा अथवा नेतृत्वमा नेता–कार्यकर्ता हुनुपर्छ होइन र ? राजनीतिक कामजति सबै दलले सामूहिक छलफल र निर्णयबाट तय गर्नुपर्ने हो । यो भन्नुको अर्थ के काम गर्ने हो, कसरी गर्ने हो, कामको जिम्मेवारी कसलाई प्रदान गर्ने हो भन्ने विषय तय गर्ने काम पनि दलको निर्णयबाटै हो ।
दल भनेको अधिकारप्राप्त कमिटी हो भन्न खोजिएको हो । तर, यस्तो छैन यहाँ । कस्तो गजबको कुरा भने कुनै विषयमा निर्णय गर्न घण्टौं बैठक बस्छ तर अन्तिममा बैठक अनिर्णयको बन्दी बन्छ र सिंगो कमिटीले काम गर्न वा निर्णय गर्न नसकेर त्यो कामको निर्णय गर्ने जिम्मा अध्यक्षलाई प्रदान गर्छ । अध्यक्षसमेत सहभागी बनेको कमिटीले निर्णय गर्न असमर्थ हुने तर अधिकार पाएपछि त्यही अध्यक्षले फेरि निर्णय गर्न सक्ने, यस्तो पनि हुन्छ दुनियाँमा ? तर यस्तो भएको लगातार देखिएको छ । अहिले नियालेर हेरौं त कस्तो दृश्य देखिन्छ ! एमाले केपी ओलीको भरमा छ, उनको क्षमताको भरमा छ र उनको एकल नेतृत्वको भरमा छ ।
उनले जे बोल्यो, जे ठीक ठान्यो त्यही नै पार्टीको निर्णय बन्छ । पार्टीको भरमा उनी चल्दैनन्, उनको भरमा पार्टी चल्छ । माके पनि प्रचण्डको भरमा छ, एस पनि माधव, झलनाथको भरमा छ । स–साना दलको हालत उस्तै । मसाल एमबी नभै चल्दैन, बिजुक्छे नभई नेमकिपा चल्दैन । कांग्रेस पनि देउवाकै भरमा छ । उपेन्द्र, ठाकुर, महतो, चन्द, आहुतीलगायत सबैजसो दल यिनै नेताको भरमा टिकेका छन् । यिनैले पार्टीलाई विभाजन गराउन सक्छन्, अरुसँग विलय गराउन सक्छन्, सहकार्य गराउन सक्छन्, जो कसैलाई कार्वाही गर्न सक्छन् तर पार्टीले यिनलाई छुन सक्दैन, यिनीहरूसँग सोध्न सक्दैन । कार्वाही गरेर हटाउन कति कठिन हुन्छ भन्ने कुरा त नेकपाले ओलीलाई कार्वाही गर्दा के हुन गएको थियो भन्नेबाटै थाहा हुन्छ ।
राजनीतिक दलको काम भनेको आफ्नो दलले अंगीकार गरेको विचारधाराको लगातार पुष्टि र पुनर्पुष्टि गरिरहने पनि हो । यो भनेको लगातार अध्ययन, छलफल, बहस, विवाद र निश्कर्ष हो । नेतृत्वले राजनीतिक, सामाजिक, आर्थिक, सैद्धान्तिक तथा विचारधारात्मक धारणा निरन्तर पार्टी कमिटीभित्र प्रवाह गराइरहने हो । पार्टीलाई जमेको स्थिर तलाउजस्तो नभएर बगेको नदीजस्तो गतिशील बनाइरहने हो । यस्तो गरेर पार्टीको लक्ष्य प्राप्तिको निम्ति संघर्ष गरिरहन हरेक हिसाबले तयार पारिरहन सकिन्छ । सूचना, चुनौती र सम्भावनाहरूको ज्ञान जनताको बीचमा प्रवाह गरेर, जनतालाई विश्वासमा लिएर, उनीहरूसँग जोडिएर उनीहरूको समर्थन प्राप्त गरिरहने हो । हाम्रो राजनीतिक दलको विचारधारा त पानीजस्तो छ जुन भाँडामा राख्यो ठीक त्यहीजस्तो हुने । कांग्रेससँग मिले कांग्रेस जस्तै, राप्रपासँग मिले ऊ जस्तै, हिन्दुवादीसँग मिले हिन्दूजस्तै, होली वाइनवालासँग मिले उनैजस्तै । यस्तो रमाइलो छ राजनीति । तर, यसलाई तत्कालीन कार्यनीति भनेर लाज पचाउने गर्छन् । यस्तो भएपछि जनताले कम विश्वास गर्छन् ।
आजको राजनीतिक प्रणालीअन्तर्गत सत्तामा पुग्न चुनाव नजिती सुखै छैन । यदि, चुनावमा जितेर पुग्न सकिने अवस्था रहेन भने अरु के गर्दा पुग्न सकिन्छ त्यो गरिन्छ । सिद्धान्त र विचारभन्दा पनि सत्ता ठूलो बनेको अवस्था छ अहिले । त्यसकारण सत्तामा जानको निम्ति जस्तोसुकै निर्णय गर्न पनि राजनीतिक दल अप्ठ्यारो मान्दैनन् । ‘जो जिता वही सिकन्दर’ भन्ने त भनाइ नै छ । अहिले जे भइरहेको छ त्यो सबै सर्भाइवलको समस्याका कारणले हो । जनताको सर्भाइवल भने यस्तो राजनीतिले होइन कि दशनंग्र्रा खियाउँदा मात्रै हुन्छ ।
टिप्पणीहरू