सँलग्नता रविको,जवाफदेहिता प्रधानमन्त्रीको
सहकारी ठगी प्रकरण र जिबी राईसँगको कनेक्सनका कारण आलोचना खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिएको छ ।
आरोपित व्यक्ति गृहमन्त्री हुँदा सहकारी ठगीका घटनाको अनुसन्धान प्रभावित हुने भन्दै नेपाली काँग्रेसका सांसदले नैतिक रुपमा लामिछाने पदमा बस्न नमिल्ने बताएका हुन् ।
आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद बद्रिप्रसाद पाण्डेले सो भनाई राखेका हुन् । उनले अनुसन्धानको दायरामा भएका व्यक्ति गृहमन्त्री भएको भन्दै प्रधानमन्त्रीमाथि पनि नैतिक प्रश्न उठाएका छन् ।
'अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको छ । अर्कोतिर अनुसन्धान प्रभावित हुने आशंका बढाएको छ', पाण्डेले भने ।
'अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको छ । अर्कोतिर अनुसन्धान प्रभावित हुने आशंका बढाएको छ',
लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रवन्ध निर्देशक तथा शेयरकर्ता रहेको बेला त्यहाँ गरिएको लगानीतर्फ इंगित गर्दै उनले प्रधानमन्त्रीलाई सोधे, 'सहकारीको आदर्श विपरित गर्न नहुने संस्थामा लगानी,दिन नहुने शीर्षकमा कर्जा, शेयर सदस्य नभएका व्यक्तिले पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ?'
सांसद पाण्डेले लामिछानेलाई सोधेका छन्,'कतै तपाईंको पोजिशनलाई रक्षाकवच बनाएर एक दुई करोडको मात्र अभियोग लागेका तपाईलाई शिखन्डीको भूमिकामा अगाडि सारेर दसौँ अर्बको ठगी गर्ने ठूला माछाहरु उम्काउने प्रपञ्चको जानि नजानि तपाईं हतियार त बनिरहनु भएको छैन?'
उनले पीडितलाई न्याय दिने अभिभारा र विवादास्पद नियुक्तिको विरोधाभाषमा प्रधानमन्त्रीको धारणा पनि मागेका छन् । 'दूधको दूध पानीको पानी छुट्याएर पीडितलाई न्याय दिने अभिभारा र विवादास्पद नियुक्तिको विरोधाभाषमा प्रधानमन्त्रीको धारणा के हो ? यसको जवाफ नेपाली काँग्रेसले खोजिरहेको कुरा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु', पाण्डेले भने ।
प्रधानमन्त्रीले शीघ्र जवाफ नदिएमा काँग्रेस संसदमा कठोरतापूर्वक प्रस्तुत हुने उनको चेतावनी छ ।
टिप्पणीहरू