मुख्यमन्त्रीकी श्रीमतीले घुस्याहा नेताहरुको नाम सार्वजनिक गर्दै

मुख्यमन्त्रीकी श्रीमतीले घुस्याहा नेताहरुको नाम सार्वजनिक गर्दै

भारतमा आम आदमी पार्टीका नेता सुनिता केजरीवालले मदिरा नीति बनाउँदा अर्बौ रकम पचाउने नेताहरुको नाम सार्वजनिक गर्ने घोषणा गरेकी छन् । 

गत बिहीबार उनका श्रीमानसमेत रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको आरोपमा पक्राउ परेका थिए । उनीमाथि मदिरा नीति निर्माण गर्दा एक अर्ब ४० करोड अनियमितता गरेको आरोप छ । तर, उनले बारम्बार उक्त आरोप अस्वीकार गर्दै आएका छन् । भोलि भारतको उच्च अदालतमा मुद्दामाथि सुनुवाई हुँदैछ ।

सुनिताले आज मुख्यमन्त्रीको पक्षमा एक भिडियो सन्देश सार्वजनिक गर्दै भोलि अदालतमा उभिएर मदिरा नीतिमा भ्रष्टाचार भएको भनिएको विषय र रकम पचाउने वास्तविक नेताहरुको नाम सार्वजनिक गर्ने बताएकी हुन् । उनले केन्द्र सरकारलाई चेतावनी दिँदै मदिरा नीतिमा अनियमितता गर्ने आम आदमी पार्टी नभएर भाजपा भएको दाबीसमेत गरेकी छन् । 

भारतीय प्रवर्तन निर्देशनालय (इडी)ले आफ्नो घरमा सयौँ पटक छापा हानेको र ७३ हजार जफत गरेको पनि सुनिताले जानकारी दिएकी छन् । ‘कसले कुन नियतले यो सबै गरिरहेको छ, जनताले राम्ररी बुझेका छन्’, उनले भिडियोमा भनेकी छन्, ‘इडीले हाम्रो निवासमा एक वर्षयता दुई सय पटक छापा हान्यो, तर केही पाएन । ७३ हजार जफत गरेर लगेको छ ।’ 

मुख्यमन्त्री केजरीवालले अनियमितता गरेको भनेको रकम भाजपाकै नेताहरुले पचाएको उनको दावी छ । ‘मुख्यमन्त्रीले जुन रकम अपचलन गरेको भनिएको छ, त्यसको वास्तविक अपचलन गर्ने भाजपाका नेताहरु हुन्’, सुनिताले थप्दै भनेकी छन्, ‘भोलि मलाई अदालतसम्म पुग्न दिनुस्, केही चेहेरा बाहिर आउँछन् ।’ 

इडीले आफ्नो परिवारलाई समेत मानसिक यातना दिएको सुनिताको आरोप छ ।

टिप्पणीहरू