राजधानीमा महिला उद्यमीहरुको मेला शुरु
उद्यमी महिलाहरुको साझा संस्था महिला उद्यमी महासंघ, नेपाल (एफवीन) ले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०२४’ आजदेखि शुरु भएको छ । सातौं संस्करणको मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको छ ।
उद्यमी महिलाहरुद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार र बिक्रीवितरणका लागि एफवीनले हरेक वर्ष मेलाको आयोजना गर्दै आएको छ । मेलाले उद्यमी महिलाहरुलाई व्यापार विस्तारमा सहयोग पुर्याउने एफवीनकी अध्यक्ष शोभा ज्ञवालीले बताइन् ।
उनले भनिन्, ‘उद्यमी महिला आफैंले अन्य स्रोतबाट सिकेर होस् या महासंघले सिकाएर उद्यम गरिरहनुभएको छ । मेलामा आफूजस्तै उद्यम गरेकाहरुले के कसरी आफ्नो काम अघि बढाएका छन्, आफू कहाँ चुकेको छु, थप राम्रो कसरी गर्न सकिन्छ भनेर सिक्ने मौका पनि मिल्छ । त्यसैले यस्तो मेलाको आयोजना गर्दै आएका छौं ।’
‘स्वदेशी खाऊँ, स्वदेशी लगाऊँ र स्वदेशी उद्यमशीलतालाई प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ गर्न लागिएको मेलाको उद्घाटनमा मुलुकका उच्च पदस्थ तथा राजदूतहरुले नेपाली पोशाकमा ‘र्याम्प वाक’ गर्ने उनले जानकारी दिइन् । एफवीनले आर्थिक रुपमा कमजोर महिलाहरुका लागि निःशुल्क स्टलको समेत व्यवस्था गरिएको छ ।
चैत २० गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने मेला अवलोकनका लागि कुनै प्रवेश शुल्क तिर्न नपर्ने आयोजकले जनाएको छ ।
टिप्पणीहरू