जंगी अड्डालाई भन्नैपर्ने केही कुरा
सुझाव दिएको विषय इतिहासका लेखक र इतिहासका पाठकहरूले समेत मनन गर्नुपर्ने भएकोले यो पत्रिकामार्फत ‘जो जस लाई सम्बन्ध राख्छ’ पेश गरेको छु ।
१) नेपाली सेनाले संस्थागत रूपमा सैनिक इतिहास लेख्न र प्रकाशन गर्न थालेको प्रधानसेनापति सत्चितसमशेर राणाज्यूको पालाबाट हो । त्यसभन्दा पछाडि धेरै लेखिए, प्रकाशन भए । हाल आएर हरेक वर्ष सेना दिवसको अवसरमा प्रधानसेनापतिले सैनिक इतिहास लेखाइ राष्ट्रपतिको हातबाट सैनिक मञ्चमा विमोचन गराउन थालिएको छ ।
२) ती कुरा तिनै लेखकले पटक–पटक पहिलेका प्रधानसेनापतिको कार्यकालमा लेखिसकेका छन् । उही कुरालाई ओल्टाइ–पल्टाई, तल माथि पारेर प्रकाशित गरिँदै छन् । यी पुस्तक सकल नेपालीले पढ्न पाउने भए इतिहासका पाठकले थाहा पाउँथे । सेनाभित्र थाहा नपाउने अवस्था रहेकाले मात्र यी बठ्याइँ हुन सकेका हुन् । अनि लेखकका धुत्र्याइँ हुन् । सत्चितसमशेरका पालामा लेखी गडुलसमशेरको पालामा विमोचित सैनिक इतिहासदेखि, रुक्मांगद कटवाल, छत्रमान गुरुङ, पूर्णचन्द्र थापा र प्रभुराम शर्माको पालामा उहाँहरूले सही गरेका इतिहासहरूको रुजु गरियोस् । सेनासँग पैसा लिएर कुन–कुन पुस्तकमा तिनै लेखले कति सारे अनि कति अनुसन्धान गरे ? जाँच गरियोस् ।
३) जंगी अड्डाको इतिहासमा लगानी भनेको नयाँ–नयाँ सोधखोज गर्ने–गराउने हो । अनि सैनिक इतिहास सैनिक पाराले नै लेख्ने हो । अन्यथा राजनैतिक इतिहास र सैनिक इतिहासमा के फरक हुन्छ ? अरु देशका सेनाले लेखाएका इतिहासका मोडेल अर्थात प्रारूप हेरियोस् । अनि थाहा हुन्छ सैनिक इतिहास भनेको के हो ?
४) गण, गुल्म र अन्य अंगले इतिहास लेखाउँदा लेखकले पाउने पारिश्रमिक अर्थात् अनेरियम कत्ति हो ? जंगी अड्डाले नै निर्धारण गर्नुपर्छ । के के सोधखोज गरे ? ती इतिहासमा हेर्नुपर्छ । अनि लेखकलाई पैसा तिर्नुपर्छ । अन्यथा, गण गुल्म ठगिने छन् ।
यस्ता सैनिक इतिहास सर्वसुलभ तरिकाले बजारमा बिक्री भई इच्छुक सबैले पढ्न पाउनुपर्छ । अनि मात्र सैनिक इतिहासको पठन बढी नेपाली सेनाको महिमा बढ्नेछ ।
– सहायक रथी (अप्रा) डा. प्रेमसिंह बस्न्यात, बूढानीलकण्ठ –८, काठमाडौँ
टिप्पणीहरू