माधव नेपालप्रति ओलीको अझै कटाक्ष- कुहिएको आलु

माधव नेपालप्रति ओलीको अझै कटाक्ष- कुहिएको आलु

नयाँ सत्ता समीकरण बनेसँगै वाम एकताको चर्चा चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति कटाक्षपूर्ण टिप्पणी गर्नुभएको छ । 

पार्टीको बझाङ-काठमाडौँ सम्पर्क मन्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आन्तरिक तथा बाह्य शक्तिको आडमा केही व्यक्ति एमालेलाई ध्वस्त बनाउन परिचालित भएको आरोप लगाउनुभयो । बझाङ प्रदेश सभा उपनिर्वाचनको सन्दर्भमा आयोजित कार्यक्रममा ओलीले गठबन्धन गरेर पार्टीलाई कमजोर बनाउन तत्कालीन एमालेका 'हस्ती' भनिएका नेताहरु लागेको बताउनुभयो । 

माधव नेपालको नाम नलिई भन्नुभयो, 'गत निर्वाचनमा अरु सबै एकातिर,हामी अर्कोतिर भएको अवस्था थियो । हाम्रै पार्टीका हस्ती भनिएका अनेक नेताहरु पार्टीबाट अलग भएर गएका थिए,पार्टी फुटाएका थिए । एमाले त शून्य सिटमा झर्छसमेत भनेका थिए ।'  

त्यसबेला बाह्य शक्तिको आँट र गठबन्धनको बलमा एमाले सिध्याउने दुस्साहस गरिएको जनाउँदै पार्टी विभाजनलाई 'बोराबाट निकालेर फालेको कुहिएको आलु' को संज्ञा दिनुभयो । 

निर्वाचनअघि माधव नेपालको यौटा अभिव्यक्तितर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, 'कतिले त आफ्नो पार्टी पहिलो,कांग्रेस दोस्रो, माओवादी तेस्रो भन्दै गएर एमाले त कतै भेटिदैन भन्ने उद्घोष गर्दै हिँडेका थिए । त्यो दुस्साहस कहाँबाट आयो भन्दा हामीविरुद्धको जुन गठबन्धन थियो, त्यो गठबन्धनलाई हेरेर, आन्तरिक र बाह्य सहयोग समर्थनको स्थिति हेरेर उनीहरुको आँट पलाएको थियो । उनीहरुको आफ्नै आँट हैन ।'
 

ओलीले तकालिन गठबन्धनले देशैभर कब्जा गरेर चुनाव जितेको आरोपसमेत लगाउनुभयो । त्यसका बाबजुद संसद्को गणितीय खेलमा केही सिटले पछि परे पनि एमाले सर्वाधिक लोकप्रिय बनेर आएको उहाँको भनाई छ । 

'केही मान्छे सडेर जानु एउटा राम्रो काम के भएको थियो भने कुहिएका आलु बोराबाट झिकेर मिलाइएको थियो । अब एमाले एमाले नै रहेछ भन्ने थाहा भएको छ',माधव नेपालप्रति कटाक्ष गर्दै ओलीले भन्नुभयो, 'त्यसबेला पनि कारणवश एमालेले बझाङ्गमा हारेको हो । त्यो कृतिम हार थियो । हामीलाई दौडमा जितेको हैन डोरीमा अल्झाएर जितेका थिए । लडाएर आफ्नो जित घोषणा गरेका थिए । आजको अवस्था त्यो होइन ।

टिप्पणीहरू