प्रधान सेनापतिले ४ महिना बाँकी छँदा पनि यसै गर्ने ?

प्रधान सेनापतिले ४ महिना बाँकी छँदा पनि यसै गर्ने ?

नेपाली सेनालाई पुरानो,बलियो तथा अनुशासित संस्थाको रुपमा मात्रै नभएर जनताको बिश्वास र आस्थाको केन्द्रको रुपमा पनि हेर्ने गरिन्छ ।

नेपालको न्याय क्षेत्र लगायत सबै संवैधानिक निकायहरुमा घिनलाग्दो राजनीतिले प्रवेश पाएको साथै चरम भ्रष्टाचारले देश टाट पल्टी जनताले दु:ख पाइरहेको अवस्थामा नेपाली सेना पनि बेला बखत विवादमा परेकै छ । त्यसैले गर्दा सामाजिक सन्जालमा मात्रै नभएर सडकदेखि सदनसम्म सेनाको संख्या र कार्यक्षमता आदिबारे बेला बेलामा बहस भै रहन्छ ।

सैनिक अनुशासनमा चुकेका, विभिन्न अपराधमा संलग्न एवम् भ्रष्टाचार तथा आर्थिक हिनामिनामा मुछिएका सैनिकलाई यसअघि गरिएका संस्थागत कारबाहीको चर्चा हुने गरेको छ । तर,अहिले आर्थिक हिनामिनामा जोडिएकालाई कारबाहीको सट्टा पुरस्कारस्वरुप बढुवा र विदेश तालिमको अवसर दिन खोजिएपछि सेनाभित्र अर्कै खालको तरंग उत्पन्न भएको पाइन्छ ।  

सेनाले अस्ति जारी गरेको सात दिने आन्तरिक सूचनामा प्रमुख सेनानी तथा महासेनानी दर्जाका निम्ति बढुवा सिफारिस गरिएको छ । प्रमुख सेनानीबाट महासेनानीमा बढुवाको निम्ति सिफारिस भएकामध्ये मध्यपूर्वी पृतना हेडक्वार्टरका सुरेन्द्रप्रताप रावल पनि एक हुन् । उनीमाथि आर्थिक हिनामिनामा संलग्न भएको आरोप छ । 

जाजरकोटमा ज्वालादल गणका गणपति भएका बखत तल्लो तहका कर्मचारीको भत्ता रकम तलमाथि पारेको आरोप लागेको थियो । गणका सकल दर्जाहरु नलगाड हाइड्रोपावरको एक्सप्लोसिभ (बिस्फोटक) स्थानमा सुरक्षार्थ खटिएवापत कम्पनीले सुरक्षामा खटिएकाहरुलाई दिएको भत्ता रावलले एकलौटी पारेको बताइन्छ ।

सोही गणमा भएको सैनिक कल्याणकारी फण्ड र इमर्जेन्सी फण्डको ब्याज रकमसमेत हिनामिना गरेको आरोप लागेको छ । उक्त आरोप लगाइएको फाइल सैनिक सचिव कार्यालयको दराजमा अझै रहेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘त्यससम्बन्धी फाइल कानुन फाँटमा पनि छ । चाहने हो भने जहाँबाट पनि फाइल खोलेर छानबिन गर्न सकिन्छ ।’

अहिले बढुवाको प्रक्रिया अघि बढेको बखत जवानहरुको भत्ता तथा युनिटको रकम हिनामिना गरेको आरोप लागेकामाथि छानविन र कारबाहीको माग उठेको हो । तर उनै रावललाई फास्ट ट्रयाकबाट बढुवाको निम्ति सिफारिस गरेको भन्दै बढुवामा पछाडि पार्न खोजिएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले लेखेका छन्,‘यस्तो हर्कतले हामी जस्ताको मनोबलमा कस्तो असर गर्छ भनेर सैनिक नेतृत्वले बुझ्नुपर्छ कि पर्दैन ? यसरी भ्रष्टाचारमा लिप्त व्यक्तिलाई कारबाहीको सट्टा बढुबा दिँदै जाने हो भने नेपाली सेना भ्रष्टाचारमुक्त हुन्छ ?’
असहमति राख्नेहरुले प्रमुख सेनानी सुरेन्द्रप्रताप रावलको नामलाई सम्भावित बढुवा सूचीबाट हटाउनुपर्ने,उनीमाथि लागेको आरोपबारे उचित छानबिन गर्नुपर्ने र दोषी भएमा सैनिक ऐनअनुसार कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।

सैनिक नेतृत्वलाई आग्रह गर्दै लेखिएको निवेदनमा उल्लेख छ, ‘उनको ठाउँमा हालसम्म कुनै पनि कसुर तथा दाग नलागेका प्रमुख सेनानीलाई बढुवाको निम्ति सिफारिस गरियोस् भन्दै प्रधान सेनापतिज्यूलाई हार्दिक निवेदन गर्दछौं ।’

उनीहरुले प्रधान सेनापतिबाट अवकास हुने समयमा भ्रष्टाचारमा मुछिएकालाई बढुवाको अवसर दिएर आफूमाथि दाग लाग्न नहुने पनि सुझाव दिएका छन् । भनिएको छ, ‘राम्रो गर्ने कि नगर्ने यो विषय श्रीमान् प्रधान सेनापतिकै हातमा छ ।’

टिप्पणीहरू