बालकोट ब्याकिङ्गकी टिनालाई मध्यरातको परिणाम उल्टो
पार्टीभित्रै प्रतिस्पर्धी व्यहोर्नुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको दुःख फेरि बारामा प्रकट भएको छ ।
शुक्रबार सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट बालकोटद्वारा प्रस्तुत उम्मेदवार पराजित भई पुरुषोत्तम पौडेलपक्षीय नेताले अध्यक्ष जितेका छन् । बालकोटबाट टिना सुवेदीलाई सर्वसम्मत अध्यक्षसहित प्यानलकै नाम जिल्लामा पठाइएको थियो । तर, अरु सबै पदमा बालकोटको सूचीले जित्यो । शनिबार मध्यरात मतगणना हुँदा बालकोटकी उम्मेदवार टिनाले पुरुषोत्तमपक्षीय अध्यानन्दसँग ३४ मतले पराजय व्यहोरेकी हुन् । अध्यानन्दले ३ सय ७७ र टिनाले ३ सय ४३ मत पाएकी छन् ।
कृषिमन्त्री ज्वालाकुमारी साहका पतिलाई सचिव बनाउने बालकोटको सूची भने अधिवेशनले अनुमोदन गरेको छ । त्यसअनुसार अमृत शर्मा बजगाईं सचिवमा निर्वाचित भए । उनले प्रतिस्पर्धी मो.समिउल्लाहलाई ४६ मतले पराजित गरेका हुन् ।
अध्यक्षमा निर्वाचित पाण्डे एमाले विभाजनपूर्व माधव नेपाल समूहका थिए, पुरुषोत्तम पौडेलहरुसँगै अन्तिम अवस्थामा माधवको साथ छाडेका हुन् । अध्यक्षमा पराजित टिना क्षेत्र नं. १ का सांसद तथा ओली प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकारसमेत रहेका अच्युत मैनालीकी पत्नी हुन् । मैनालीसहित मन्त्री ज्वाला बारा जिल्लामा एमालेभित्र ओलीको विरासत धानिरहेका नेता मानिन्छन् ।
अधिवेशनले उपाध्यक्षमा भुलन चौधरी,सहसचिव जवाहिर अन्सारी र भावना आचार्यलाई निर्वाचित गरेको छ ।
टिप्पणीहरू