राेल्पा माओवादी : मन्त्रीको आकर्षण, जनताको विकर्षण
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएसँगै रोल्पाका तीन नेताले संघ र प्रदेशमा नेतृत्व पाएका छन् । मुख्यमन्त्री महराले दिपेन्द्र पुन ‘सिजल’लाई विनाविभागीय मन्त्री नियुक्त गरेपछि प्रदेशमा दुई र संघमा एक जनाले सरकारको नेतृत्व गर्ने मौका पाएका हुन् ।
प्रधानमनन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासपात्र मानिने महरा मुख्यमन्त्रीको ‘टार्गेट’ राखेरै दुई वर्षअघि नै राजधानी छाडेर बुटवलतर्फ लागेको बताइन्छ ।
२०२० कार्तिक १ गते गजुलको काभ्रा (काट्ने) मा जन्मिएका महराले ०३६ सालको जनआन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
पार्टीभित्रका विभिन्न जिल्लास्तरीय र क्षेत्रीय संगठनको नेतृत्व गरेका महरा २०६० सालमा पार्टीको केन्द्रीय सदस्य बने । त्यसयता अध्यक्ष प्रचण्डले उनलाई ०६२ सालदेखि ०६५ सालसम्म र ०७२ सालदेखि ०७८ सालसम्म आफ्नो प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिनुभएको थियो ।
महराको पार्टीप्रतिको निष्ठा देखेर प्रचण्डले ०७९ को निर्वाचनलाई लक्षित गर्दै ०७८ सालमा बुटवल कार्यक्षेत्र तोकियो । सोहीबमोजिम उनी पनि लुम्बिनीका सबै जिल्लामा पुगेर पार्टीका विभिन्न गतिविधमा सहभागी हुँदै आए । अन्ततः दुई वर्षअघि महराले राखेको टार्गेटले आज सार्थकता पाएको छ ।
मुख्यमन्त्री महराले नियुक्त गरेका विनाविभागीय मन्त्री सिजल पनि रोल्पाकै हुन् । उनी २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । यद्यपि, उनको कहानी पनि रोचक नै छ ।
निर्वाचनको समयमा माओवादी केन्द्र र काँग्रेसबीचको गठबन्धनको कारण सिजलले टिकट पाएनन् । उनको क्षेत्रबाट लुम्बिनी काँग्रेस समितिका सभापति अमरसिंह पुनले टिकट पाए ।
त्यतिबेला सिजलले पार्टीभित्र बिद्रोह गरे । पार्टीका सप्पूर्ण पद र जिम्मेवारीबाट राजीनामा दिँदै उनी बागी उम्मेदवार बने । त्यतिबेला उनको उक्त निर्णयले सार्थकता पायो । गठबन्धनका उम्मेदवार सिंहलाई ४ हजार ५२१ मतान्तरले हराएका थिए ।
निर्वाचन सकिएको एक महिनामै सिजलले आत्मालोचना गरेर पुनः माओवादी प्रवेश गरे । निर्वाचनको एक महिनाअघि पार्टी छाडेका उनी चुनाव जितेको एक महिनापछि पुनः पार्टीमा भित्रिएपछि पराजित उम्मेदवार सिंहले आक्रोश पोखेका थिए ।
उनले त्यतिबेला माओवादी केन्द्रले धोका दिएको बताउँदै कुनै समय बदला लिने योजना बुने । तर प्रधानमन्त्री प्रचण्डले काँँग्रेससँगको गठबन्धन तोडेपछि नेता सिंहको उक्त योजना सफल भएन ।
रोल्पा घर भएका वर्षमान पुन ‘अनन्त’ यसअघि नै संघीय सरकारको अर्थमन्त्री भइसकेका छन् । उनी गत फागुन तेस्रो साता पुनः अर्थमन्त्री नियुक्त भएका थिए ।
अर्थमन्त्री पुन र लुम्बिनीमा आज नियुक्त भएका मन्त्री सिजल छिमेकी हुन् । माडिचौरस्थित उनीहरुको घर करिब १५ मिनेटको दूरीमा छ । पछिल्लो समय रोल्पाबाट सत्तामा पुग्ने नेताहरुको संख्या बढेको छ । तर, जनतामा भने माओवादीप्रतिको आकर्षण क्रमशः घट्दै गएको पाइन्छ ।
टिप्पणीहरू