काँँग्रेसले पेलेपछि रविका मन्त्रीहरुको गोप्यवार्ता
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा आफ्नो दलका केही मन्त्री र नेताहरुसँग विशेष छलफल गरेका छन् । बिहान साढे ८ बजेदेखि झण्डै एक घण्टा भएको छलफलमा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल,युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ,पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेलगायत सामेल थिए ।
नेताहरुले बैठकमा पार्टीको आन्तरिक अवस्थावारे छलफल भएको जानकारी दिए पनि रास्वपाका नेताहरु आज दिउँसो २ बजे सभामुख देवराज घिमिरेले बोलाउनुभएको चार दलीय शीर्ष नेतासँगको परामर्श बैठक र सहकारी ठगी प्रकरणमा राजीनामा माग्दै काङ्ग्रेसले अवरुद्ध गर्दै आएको सँसदीय गतिविधिमा प्रस्तुत हुने उपायउपर केन्द्रित रहेको बुझिएको छ ।
सभामुख घिमिरेले दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा नेपाली काँग्रेस,एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरुसँग परामर्श गर्न लाग्नुभएको छ । प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन नेताहरुसँग परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद बैठकमा निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै आएको छ । गृहमन्त्रीको सहकारी ठगीमा संलग्नता रहेकाले संसदीय छानबिन समिति गठन हुनुपर्ने माग काँग्रेसको छ । आफ्नो माग पूरा नभए भोलिदेखि संसद बैठक अबरुद्ध गर्ने चेतावनी दिइएको छ ।
उता काँग्रेसको पदाधिकारी बैठक पनि बिहान साढे ८ बजेदेखि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको छ ।
टिप्पणीहरू