राप्रपाले जुलुश निकाल्ने, नाका नाकाबाट प्रहरीले नियाल्ने

राप्रपाले जुलुश निकाल्ने, नाका नाकाबाट प्रहरीले नियाल्ने
सुन्नुहोस्

राप्रपाले आज राजधानीमा गर्न लागेको जनप्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरीले विशेष सुरक्षा प्रबन्ध मिलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा थप मद्दतका लागि खटिने र स्ट्याण्डबाईमा रहने जनशक्तिको लामो सूची बनाइएको छ ।

प्रहरी जनशक्ति बिहान ७ बजे नै खाना खाएर नीलो चुस्ता पोशाकमा सडकमा खटिइसकेका छन् । थप मद्दतका लागि खटिने र तयारी हालतमा बस्ने भनिएकालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको मैदानमा राखिएको छ । उनीहरुलाई टोली कमाण्डरले ब्रिफिङसमेत गरिसकेको बताइन्छ ।

आजको विशेष अवस्थालाई ध्यानमा राखेर प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी हिँडेरै हेडक्वार्टर पुगेका छन् । दैनिक रूपमा ल्याउन र लैजाने कार्यमा प्रयोग भएको स्टाफ बस जिल्ला प्रहरी परिसर काठमाण्डौमा खटाइएको छ ।

उक्त बस थप मद्दतका लागि खटाइने प्रहरी जनशक्ति बोक्नुपर्ने भएकाले उच्च तयारी हालतमा राखिएको परिसर स्रोतले बताएको छ ।

टिप्पणीहरू