सभामुखका कारण संसद रोकिएको सत्तापक्षीय सांसदको आरोप

सभामुखका कारण संसद रोकिएको सत्तापक्षीय सांसदको आरोप

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले सभामुख देवराज घिमिरेको त्रुटीका कारण संसद बैठक चल्न नसकेको बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसद बैठकमा सभामुख घिमिरेको त्रुटी गरेको आरोप लगाए । संसदमा विपक्षीहरुको कुरा सुन्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रमुख प्रतिपक्षका सांसद बोलिसकेपछि सत्ता पक्षका सांसदलाई बोल्न दिनुले वातावरण बिथोलिएको दाबी गरे । 

'अहिले संसदमा जुन परिदृश्य देखापर्यो, सभामुखले यो परिस्थितिलाई मुकाविला गर्नका लागि सर्वपक्षीय, सर्वदलीय सहमतिको वातावरण बनाउनुपर्थ्यो । प्रमुख प्रतिपक्षले संसदमा कुरा राखिसकेपछि उहाँले अरुलाई बिचमा बोल्ने अवसर दिनु हुँदैन थियो जस्तो मलाई लाग्छ', यादवले भने, 'उहाँ (सभामुख)ले अर्कोलाई पनि समय दिनुभयो । एकप्रकारको टसल भयो । संसदमा विपक्षीको कुरा सुन्ने, वातावरण बनाउने भन्ने हुन्छ ।'

संसदमा 'साढे जुधाई' भएको टिप्पणी गर्दै उनले यस्ता गतिविधिले संसदको गरिमा घटाउने चिन्तासमेत व्यक्त गरेका छन् । लोकतन्त्रमा जवाफदेहिता सबैभन्दा ठूलो विषय भएकाले कसैप्रति प्रश्न उठेमा त्यसको जवाफ दिनुपर्ने सांसद यादवको भनाई छ ।

'यहाँ त साढे जुधाई भयो । यसले संसदको गरिमालाई घटाउँछ ।  जनतामा जुन प्रकारको निराशा, आक्रोश छ दलहरुप्रति झन यसले अविश्वासको वातावरण बनाउँछ । सदनको नेता सभामुख हो । उहाँ यसप्रति गम्भिर हुनुपर्छ । आज उहाँबाट कहीँ न कहीँ त्रुटी भएको देखिन्छ । उहाँले अधिकतम दलहरुका बीचमा सहमती गराउने प्रयास गर्नुपर्छ’, उनले भने । 

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आज संसद बैठक अवरोध गरेको थियो । त्यसपछि सहमति जुटाउन भन्दै १५ मिनेटको लागि स्थगित गरिएको बैठक पुन: बस्न सकेन । 

आज सूचना टाँसेर स्थगित गरिएको बैठक भोलिका लागि बोलाएको छ ।

टिप्पणीहरू