गण्डकीका मुख्यमन्त्रीले मन्त्रालय फुटाए

गण्डकीका मुख्यमन्त्रीले मन्त्रालय फुटाए

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या बढाएका छन् । उनले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्याएका हुन् । 

आज बसेको क्याविनेट बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।  

०७९ सालसम्म गण्डकीमा १२ वटा मन्त्रालय थियो । त्यही वर्ष पुस २५ गते पहिलो पटक मुख्यमन्त्री हुँदा अधिकारीले नै १२ मन्त्रालयलाई एकीकृत गर्दै ७ मा झारेका थिए । तर, अहिले फेरि सत्ता गठबन्धनलाई सन्तुलन राख्न उनले मन्त्रालयको संख्या थपेको बताइन्छ । 

अधिकारी चैत २५ गते दोश्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई एमालेका २२, माओवादीका ८ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ । 

हिजोमात्र सर्वोच्च अदालतले गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न आदेश दिएको थियो । सभामुखलाई समेत प्रयोग गरेर बहुमत जुटाएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध हालेको रिटमा सर्वोच्चले त्यस्तो आदेश दिएको हो ।

टिप्पणीहरू