यसरी नै चलाइरहने हो राष्ट्रपतिको सवारी ?

यसरी नै चलाइरहने हो राष्ट्रपतिको सवारी ?
सुन्नुहोस्

युद्धकै झल्को दिनेगरी बेसीशहर नपा–७ सजी खेलमैदान वरिपरि घरका छत र डाँडैभरि अत्याधुनिक हतियारद्वारा सज्जित सयौं सेना, प्रहरी र सशस्त्रले ०५८ सालतिरको झझल्को दिए ।

२३ गते आठौं लमजुङ महोत्सव उद्घाटनका लागि आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सुरक्षालाई ध्यानमा राखी साता अघिदेखि तैनाथ सैनिकको परेड बाक्लो थियो । ठीक ११ बजे उद्घाटन गर्ने भनिएको कार्यक्रममा राष्ट्रपति तनहुँको भिमादबाट लमजुङ आउँदा १ बजिसकेको थियो।

अघिल्लो दिनसम्म जिल्ला अस्पताल लमजुङको प्राङ्गणमा उत्रने सूचना थियो । त्यहीअनुसार सेनाले रातारात हेलिप्याड तयार ग¥यो । राष्ट्रपति ओर्लने ठाउँमा तालिमप्राप्त कुकुरले रेकी गरिसकेका थिए । तर राष्ट्रपति हुनुअगाडि धेरैपटक गेटवे रिसोर्टमा बसिसकेकाले उहाँकै रुचिअनुसार अवतरण स्थल परिवर्तन गरियो ।

फेरि सो रिसोर्ट आफ्नै कार्यकर्ता भेषबहादुर पौडेलको हो । १५ मिनेटजति रिसोर्टमा सुस्ताएपछि कार्यक्रम स्थलतिर लाग्नुभएका राष्ट्रपतिलाई स्वागत गर्न हातमा बुके लिएर उभिएकी पुस्तिका खनाल, शोभा पाण्डेहरू सुरक्षाकर्मीको पेलानमा परे । अधिकांश नेपाली कांग्रेसका कार्यकर्ता दर्शनभेटका लागि हातमा फूलका गुच्छा लिएर बसे पनि सुरक्षागार्डले ढिम्किनै दिएनन् ।

कुनै बेला राजनीतिक सहपाठी, दुराडाँडाका हरिप्रसाद अधिकारीले नमस्कार गर्न अगाडि बढदै गर्दा सेनाले ठेलेर घचेटेपछि आक्रोशित हुँदै यस्तो राष्ट्रपतिभन्दा त राजा नै ठिक भन्दै चिच्याए । नेपाली कांग्रेस जिल्ला सदस्य भैसकेका नारायण घिमिरे नागरिकता विधेयक राष्ट्रपति पौडेलले आँखा चिम्लेर पास गरेकोमा आक्रोशित थिए । सेना–पुलिसकै बीचमा राष्ट्रघाती भनिदिए ।

ठाउँ–ठाउँमा भिआईपीमाथि आक्रमणको घटना देखे सुनेका सुरक्षा निकायलाई राष्ट्रपतिमाथि पनि त्यस्तै कुनै अप्रिय घटना होला कि भन्ने निकै पीर थियो । विप्लवका मान्छेले कालो झण्डा देखाउन सक्ने सूचना पुगेको थियो । कालो झण्डा देखाउँदैमा हुने त केही थिएन तर एउटाले बिराउने, अर्कैलाई पिराउने भने जस्तो कारवाहीको भागिदार त सुरक्षाका मान्छेलाई हुन्थ्यो । त्यही भएर पनि होला, कालो चस्मा लगाएका र पेस्तोल बोकेका सादा पोशाकका सेनाले पत्रकारलाई समेत घचेट्न छाडेनन् ।

उनीहरूले मोबाइलबाट फोटो खिच्न खोजेका पत्रकारहरूलाई त्यसो गर्न दिएनन् । पत्रकार महासंघ लमजुङको अध्यक्षसमेत रहेका परमेश्वर अधिकारी, उपाध्यक्ष अनुज अधिकारीलाई छुट्टयाइएको स्थानमा पस्न रोक लगाएपछि आयोजककै सहारा लिन परेको थियो । मोबाइलबाट लाइभ गरिरहेका पत्रकार किसान संगीतलाई त्यसो नगर्न उर्दी नै गरे । एकजना सुरक्षा गार्डले त चस्मा फुकाल्दै प्रेस सेन्टर लमजुङकी सचिव सबिना प्रजालाई मोबाइल पत्रकार भनी खिसी गरे ।

लिखित मन्तव्यको बीचबीचमा घुसाइएका अंग्रेजी शव्दमा राष्ट्रपति अल्मलिनुभएको थियो । उहाँले आजको नेपालमा लमजुङ लुकेको सम्पत्ति हो भन्दै यहाँको हावापानी, माटो र सिंगो प्रकृति नै अनुपम लाग्ने, कृषि क्रान्ति, पर्यटनको विस्तार र जलस्रोतको विकास तीनवटै कुराको सशक्त आधारभूमि लमजुङ भएको बताउनुभयो । 

पौडेलले विश्वमै उत्कृष्ट पर्यटकीय पदयात्राको निम्ति ख्याति कमाएको अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङले पर्यटन व्यवसायबाट प्रशस्त लाभ लिन सक्ने भन्दै घलेगाउँ, काउलेपानी र भुजुङ, पसगाउँसहित गाउँशहर, बेसीशहर, राइनासटार, भोर्लेटार हुँदै चितिदेखि चिसंकुसम्म, घनपोखरादेखि दुराडाँडा–कुन्छासम्म र बिचौरदेखि रिस्ती रम्घासम्म पुराना गाउँहरूलाई स्मरण गर्दै ती गाउँले यहाँको ऐतिहासिक आकर्षणको आयामलाई बढाइदिएको बताउनुभयो ।

राष्ट्रपतिले यस्ता कार्यक्रमले राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका निभाउने व्यक्त गर्दै गर्दा आयोजकमध्येका एक सदस्यले राज्यले खर्च व्यहोर्छ होला भनेर राष्ट्रपतिलाई निम्तो गरियो, कहाँ हुनु सबै खर्च आयोजककै पो रहेछ । राष्ट्रपतिलाई ल्याइयो भन्ने त भयो तर खर्च भने ७÷८ लाखजति हुने सुनाए । 

महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ भने वैशाख १ गतेदेखि चैत्र ३१ गतेसम्म लमजुङ भ्रमण वर्ष २०८१ मनाइनेछ । 

– अञ्जनकुमार

 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू