अनुमति बिना विदेश नजान सांसदहरुलाई ओलीको निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीको अनुमति नलिई विदेश नजान सांसदलाई सचेत गराउनुभएको हो । त्यसक्रममा अध्यक्ष ओलीले अत्यावश्यक काममा विदेश जानुपरे प्रमुख सचेतक र सचेतकलाई अनिवार्य जानकारी गराउन पनि निर्देशित गर्नुभयो ।
विगतमा सांसदहरु रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गरेको दृष्टान्त पेश गर्दै उहाँले भन्नुभयो, ‘समितिका बैठकहरुमा हाम्रो भूमिका एफसेन्ट होइन, एफसेन्ट कारण चाहिन्छ । र माननीयजीहरु कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ । माननीयहरु कहाँ हुनुहुन्छ ? बिना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिउँ ।
विना इजाजत विदेश भयो भने त्यसले सन्देश पैदा गर्छ कसको निमन्त्रणामा गएको हो भनेर । हाम्रै पनि साथीहरु, अरु पटीका पनि साथीहरु विना कसुर पनि, बिना दोष पनि अरुको फसाईमा फसेर कोही रातो पासपोर्ट काण्डमा परेका छन् । अर्को पटक उम्मेदवार पाएका छैनन् । त्यस्तो भएको छ । कारबाहीमा पर्नुपरेको छ । त्यसकारण यस्ता कुराहरुमा पार्टीलाई इन्फम गरायो भने पार्टीले बचाउँछ, जोगाउँछ । गल्ती हुनबाट जोगाएपछि सबै कुराबाट जोगिन्छ । पार्टीलाई जानकारी नगराई क्रियाकलाप गर्न खोजियो भने अनेक अप्ठेराहरुको फेला परिन्छ ।'
अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नफस्नका लागि पार्टीका सांसदहरु सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।
'आज सहकारीको नाममा ठगीहरु, ठगहरु तपाई हामीले देखेका छौं । अर्वौका ठग । त्यसकारण ठगहरु पनि छन । त्यो कुरा ख्याल राख्नुपर्छ । म सबै कुरा बुझीहाल्छु भन्ने होइन । नबुझ्न सकिन्छ । त्यसकारण कमसेकम दलका प्रमुख सचेतक उहाँहरुलाई जानकारी गराउनुपर्छ', उहाँले निर्देशन दिँदै भन्नुभयो ।
अध्यक्ष ओलीले कुनैपनि सांसदले पार्टीको अनुमति बिना कसुर गरेमा आफैँ जवाफदेही हुनुपर्ने पनि बताउनुभयो ।
टिप्पणीहरू