इलाममा प्रभुको समर्थन मुढालाई

इलाममा प्रभुको समर्थन मुढालाई
सुन्नुहोस्

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले इलाम–२ मा पहिचानवादीहरुका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ। 

आज विज्ञप्ति जारी गर्दै सो पार्टीका उपमहासचिव तथा प्रवक्ता चन्द्रभुषण साहले मुढा चिन्ह लिएर चुनावमा उठेका थेगिमलाई पूर्ण साथ, सहयोग र समर्थन रहेको जानकारी दिएका हुन् । 

‘आसन्न उपनिर्वाचनमा इलाम–२ बाट मुढा चुनाव चिन्ह लिई पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मिति २०८१-०१-०८ को पत्रमार्फत हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीबाट चुनावमा सहयोग र समर्थन माग गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकप्रिय उम्मेदवार लिम्बुलाई आसन्न चुनावमा सफलताको शुभकामनासहित हाम्रो तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहेको विषय सहर्ष जानकारी गराउन चाहन्छु ।’

आजपाले इलाम–२ को उपनिर्वाचनलाई पहिचानसहितको संघीयता स्वीकार गर्ने र नगर्ने बीचको राजनीतिक संघर्षका रुपमा परिभाषित गर्दै यसलाई गम्भीरतापूर्वक लिन मतदातालाई आग्रह गरेको छ ।    

‘अहिलेको लुटकारी दलतन्त्र (दलीय शासन) र दलभित्रका केही मुठ्ठीभर भ्रष्ट, बेईमान एंव धोकेबाज नेताहरुको अपराधले गर्दा नै देश अहिले संक्रटग्रस्त अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा यसबाट ठोस र दीर्घकालिन निकायका लागि आम नागरिकको सर्वोच्चता (जनताको शासन) स्थापित गर्न गराउन महत्त्वपूर्ण भूमिका एंव योगदान गर्नसक्ने कुशल, कर्तव्यनिष्ठ, ईमान्दार एंव प्रतिबद्ध नेतृत्वको छनौट जरुरी छ,’ विज्ञप्तिमा उल्लेख छ ।

देशका असहाय, अबला, आवाजविहीनहरुको बुलन्द आवाज बनी सामाजिक न्याय, सुशासन, बदलाव, विकास र समृद्धिसहित अधिकार एंव पहिचानका मुद्दाहरुलाई संस्थागत गराई मुलुकलाई अग्रगमनको पथमा निरन्तर अघि बढाउने र भविष्यमा थप मजबुत सहकार्य हुने विश्वाससहित थेगिमलाई समर्थन गरेको समेत आजपाले जनाएको छ ।

 

टिप्पणीहरू