काँग्रेसमाथि रविको कटाक्ष- भ्रष्टलाई कारवाही गर्न नसक्नेले अर्काको राजीनामा माग्न मिल्दैन

काँग्रेसमाथि रविको कटाक्ष- भ्रष्टलाई कारवाही गर्न नसक्नेले अर्काको राजीनामा माग्न मिल्दैन

गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले भन्दैमा आफूले पद नछोड्ने पुन: दोहोर्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनले आज इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा आफूमाथि आरोप लगाइएकाले राजीनामा नदिने प्रष्ट पारेका हुन् । यद्यपि लामिचानेले सहकारी पीडितको समस्या समाधान गर्न भने आफू तयार रहेको बताए । 

त्यसक्रममा उनले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टलाई पार्टीबाट कारबाही गर्न नसक्ने पार्टीले अरुको राजीनामा माग्न नसुहाउने भन्दै कांग्रेसमाथि कटाक्ष पनि गरे । काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको उनको आरोप छ । 

‘के मैले काँग्रेसले भनेर राजीनामा दिनुपर्ने । काँग्रेस, जो नेपाली जनतालाई नक्कली भूटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रीय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ?', गृहमन्त्री लामिछानेले प्रतिप्रश्न गरे । 

दुर्गा प्रसाईंसँग रकम बार्गेनिङ्ग गरेको आरोप लागेका ढाकाकुमार श्रेष्ठलाई तत्काल पार्टी र संसदबाट जिम्मेवारीमुक्त गरेको सन्दर्भ जोड्दै उनले थप अगाडि भने, 'मेरो पार्टीमा त ईतिहास छ । प्रमाणित भएको पनि होइन । त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् । म भ्रष्टहरुलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन । हाम्रो पार्टीमा त्यस्तो चल्दैन ।'

गृहमन्त्री लामिछानेले कांग्रेसको नियतमाथि प्रश्न उठाउँदै सहकारी पीडितको समस्या समाधान गर्न नचाहेको जिकिरसमेत गरेका छन् । 'उनीहरुलाई सहकारी पीडितको पीर थिएन । सहकारी पीडितहरुको पैसा फिर्ता गराउने उनीहरुको उद्देश्य थिएन । उनीहरुलाई रवि लामिछाने गलत देखाउनु थियो । रास्वपालाई घेर्नु थियो । त्यसकारण उनीहरुले केही पनि काम गरेनन्', उनले भने, 'हामीले प्रतिवेदन बनायौँ । अहिलेसम्म भएका गलत क्रियाकलापहरु के के हुन ? कसका कारणले आज सहकारीहरु बदनाम भए, आज कसेका कारणले यतिका मान्छेको लगानी डुब्यो ? गरिव नेपालीको पैसा कहाँ डुब्यो ? त्यसको समाधानको उपाय के हो ? भनेर समाधानको उपाय खोज्न हामी गयौं । हामीले प्रधानमन्त्रीलाई समाधानका उपाय समेत हस्तान्तरण गर्यौँ ।’

लामिछानेले विगतमा पुराना पार्टीहरुलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पुरानै भाषण आज पनि दोहोर्याए ।

टिप्पणीहरू