इतिहास बोकेको इथियोपिया !
मैले काम गर्ने विद्यालयमा मिनी बस चलाउने तीन जना इथियोपियन ड्राइभर छन् । एक दिन म नेपालबाट भन्ने थाहा पाएर हत्तपत्त युट्युब देखाउँदै नेपालीहरूले हामीलाई खुब मन पराउँदा रहेछन्, यो भिडियो मेरो फेसबुकमा आइरहन्छ भन्न थाले । हालसाल त्यहाँ हत्या–हिंसा चलिरहेको खबर पनि सुनेको थिएँ । सन् २०२० नोभेम्बर ४ को दिन टिग्रेका विद्रोहीले मेकेला क्षेत्रको सरकारी सैनिक ब्यारेकमा आक्रमण गरेपछि प्रधानमन्त्री अबी अहमद अलीले टिग्रे पिपुल्स लिबरेशन फ्रन्टविरुद्ध युद्धको घोषणा गरेका थिए । अम्हारा मिलिसिया र इरिट्रियन सेना इथियोपियन सरकारको पक्षमा सामेल भएपछि हिंसा बढ्दा अहिलेसम्म आठ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । आठ महिनाअगाडि मात्रै टिग्रे क्षेत्रमा संकटकाल घोषणा गरिएको थियो । अहिले व्यापक हिंसा जारी छ । जातीय हिसाबले नौ प्रदेशमा विभाजित यस देशको केन्द्रीय सत्ता श्रोत र साधनमाथि कसले हक जमाउने भन्ने नै मुख्य समस्या हो । ओरोमिया र आमराह क्षेत्रमा पनि स्थानीय मिलिसियाले केन्द्रीय सरकारविरुद्ध हतियार उठाएको धेरै भइसकेको छ । तर, टिग्रेको लडाइँपछि भने आमराह समूहले सरकार र ओरोमियाले टिग्रे समूहलाई सहयोग गरेका छन् ।
इथियोपिया संसारको सबैभन्दा पुरानो राष्ट्रमध्ये एक हो । लगभग ९८० ईसा पूर्व स्थापना भएको । इथियोपियाको नाम ग्रीक शब्द ‘आइथो’ (म जल्छु) र ओप्स (अनुहार) बाट आएको हो । पुरातन ग्रिकहरूले पूर्वी अफ्रिकामा कालो छाला भएका मानिसलाई ‘जलेको अनुहार’ भनेर उल्लेख गर्थे । तर, यहाँका मानिसहरू अन्य अफ्रिकी देशका जस्तो निक्खर काला भने छैनन् । अधिकांश मानिस गहुँ गोरो खालका देखिन्छन् ।
सन् १९७४ मा यहाँ ३.२ लाख वर्ष पुरानो मानव सभ्यताको पुर्खाजस्तो जीवको अस्थिपञ्जर भेटिएको थियो । यसलाई लुसी नामकरण गरी व्यापक अनुसन्धान गरियो । लुसी प्राणीशास्त्री परिवार होमिनिडेसँग सम्बन्धित छ । दुईवटा खुट्टाले सीधा हिँड्ने प्राणीबाटै मानव सभ्यताको विकास भएको प्रमाण थियो त्यो । कफी जन्मेको देश भनेर चिनिने यस देशले सन् १९३६ देखि इटालियन तानाशाह मुसोलिनीसँग पाँच वर्षको लडाइँबाहेक कहिल्यै कुनै साम्राज्य खेप्नुपरेन । इथियोपिया एक मात्र अफ्रिकी राष्ट्र हो, जुन औपचारिक रूपमा कहिल्यै उपनिवेश बन्नु परेन । जंगलमा चरिरहेका बाख्राहरूले एक प्रकारको बोट खाएपछि बगाल नै बेचैन भएको देखेपछि के रहेछ भनेर गोठालाले चाखेको र मीठो स्वाद भएकाले पछि मानिसले प्रयोग गर्न थालेको बताइन्छ ।
सभ्यता, संस्कृति, समुदाय, भाषाको विविधताका कारण यो देशलाई जनताको संग्रहालय पनि भनिन्छ । लगभग १२ करोड ८० लाख मानिस बसोबास गर्ने यो देश जनसंख्याको हिसाबले विश्वको १३आँै ठूलो हो । यहाँ ८० भन्दा बढी भाषा बोल्ने गरिन्छ । आधिकारिक भाषा अफार, अम्हारिक, ओरोमो, सोमाली र टिग्रिन्या हुन् । अग्ला हिमालय सिमियन पर्वतदेखि पहाड र समथर जग्गा भएकाले विविध मौसम, अद्वितीय वन्यजन्तु र आश्चर्यजनक परिदृश्य यहाँका विशेषता हुन् । इथियोपियाले ११,१२,००० वर्ग किमि भूमि क्षेत्र ओगटेको छ । क्षेत्रफलको हिसाबले विश्वको २६ औँ ठूलो देश यसको उत्तरमा इरिट्रिया, उत्तरपूर्वमा जिभुटी, दक्षिण पूर्व सोमालिया, दक्षिणमा केन्या, पश्चिममा दक्षिण सुडान र उत्तरपश्चिममा सुडान जोडिएको छ । अफ्रिकाका ५४ मध्ये १६ देश भूपरिवेष्टित छन् । तीमध्ये इथियोपिया पनि हो ।
इथियोपियाले १३ महिनाको क्यालेण्डर प्रयोग गर्छ । १२ महिना ३० दिनको हुन्छ भने अर्को पाँच वा ६ दिनलाई एक महिना मानिन्छ । उनीहरूको नयाँ वर्ष इन्कुतातास जहिले पनि सेप्टेम्बर ११ मै पर्छ । यहाँको भाषा र लिपि पनि विशेष प्रकारको छ जसलाई गिज भनिन्छ । जुन यहाँ र एरिट्रियामा मात्र प्रयोग गरिन्छ । इथियोपिया हुँदै बग्ने ग्रेट रिफ्ट भ्याली अन्तरीक्षबाट देखिने अफ्रिकाको एक मात्र भौतिक विशेषता हो । यहाँका मानिसले पहिला गधा र ऊँटलाई घरपालुवा जनावरको रूपमा पाल्थे । यहाँको मानव निर्मित रक–ह्युन चर्च अति प्रसिद्ध मानिन्छ । ठुल्ठूला चट्टान खोपेर बनाइएका चर्चमध्ये लालिबेला विश्वप्रसिद्ध छ । यहाँका मानिस पाहुना सत्कारमा अति नै लागिपर्छन् ।
एक आपसमा भेट्दा सलाम भनेर हात मिलाउँछन् । खानाका व्यञ्जन पनि क्षेत्रअनुसार ब्यापक छन् । कसैले कफी खान अनुरोध गर्दा अस्वीकार गर्यो भने असभ्य मानिन्छ । यहाँ बन्ने मह र गेसो नामक झाडीबाट बनाइएको घरेलु वाइन विशेष स्वादको हुन्छ । गजबको कुरा, मैले चिनेका तीन जना ड्राइभरलाई फरक–फरक रूपमा तिम्रो देशको सबभन्दा राम्रो एउटा पक्ष के हो भन त भन्दा ती सबैले तुरुन्त त्यहाँको खाना भने । हाम्रो दाल भात भनेजस्तै रोटीमाथि विभिन्न मासु, साग–सब्जी, दाल र चटनीको परिकारलाई इन्जेरा भनिँदो रहेछ । सँगै बसेर एकै थालमा हातले खाने र एकअर्कालाई खुवाइदिने चलन छ । एक आपसमा सम्मान गरेको ठानिने यस प्रथालाई गुर्सा भनिन्छ । नेवारी खाना कचिला– किमा बनाएर मसलामा मोली खाने गरेझैँ गाईको फिलाको मासु विभिन्न ससमा चोपेर खाने चलनलाई टेरा सिग भनिँदो रहेछ ।
मानव पुर्खाले औजारहरूको प्रयोग इथियोपियाबाटै गरेको मानिन्छ । पौराणिक कथाअनुसार करारको सन्दुक इथियोपियाको सेन्ट मेरी अक्समको सियोन चर्चमा राखिएको छ । इथियोपियामा १८ वर्ष नपुगेसम्म कानुनतः विवाह गर्न पाइँदैन तर व्यवहारमा भने ४९% केटीको विवाह १८ वर्षअघि नै हुन्छ । अम्हारा क्षेत्रमा विशेषगरी कम उमेरमा विवाह हुने दर उच्च छ । यहाँ औसत दैनिक १८५० क्यालोरी मात्र खपत हुने भएकाले इथियोपियालाई सबैभन्दा कम क्यालोरी खपत गर्ने देशमध्ये एक मानिन्छ । त्यसैले पनि यहाँका मानिस पातला हुन्छन् । इथियोपियाकी दूरी धावक आबेबे विकिलाले सन् १९६० मा ओलम्पिक म्याराथन र फेरि १९६४ मा खाली खुट्टा दौड जितेर इतिहास रचेकी थिइन् ।
अफ्रिकन युनियन, अर्गनाइजेशन अफ एजुकेशनल कोअपरेशनको केन्द्रीय कार्यालय तथा अक्सफामको क्षेत्रीय कार्यालय राजधानी आदिस अबाबमा रहेको कारण यहाँ अन्तर्राष्ट्रिय चहलपहल बढी नै हुने गर्दछ । सन् १९४६ मा स्थापित गरेको राष्ट्रिय ध्वजावाहक जहाज सेवा र आतिथ्यमा विश्व प्रसिद्ध छ । साना ठूला गरी हाल १३५ वटा जहाज सञ्चालनमा रहेको र अप्रिल १६ मा मात्र दुई ठूला जहाज किन्ने प्रक्रिया शुरु भएको छ । अफ्रिका, एसिया, युरोप तथा अमेरिका गरी १५५ गन्तव्यमा नियमित उडान हुने गर्छ । विश्वकै गरिब राष्ट्रको रूपमा दरिए पनि इथियोपिया संसारमा पहिलो पटक ब्याट्रीले चल्नेबाहेक अन्य अटोमोबाइल उत्पादन विदेशबाट निर्यातको बर्जित कानुन बनाउने पहिलो र एक मात्र देश हो ।
सन् २०२१ मा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) र इथियोपियाको सेन्ट्रल स्टाटिस्टिकल एजेन्सी (सिएसए) ले गरेको संयुक्त सर्वेक्षणअनुसार पाँच वर्षमा ८,३९,००० भन्दा बढी इथियोपियाली रोजगारी र आर्थिक अवसरको खोजीमा अन्य देशतिर बसाइँ सरेका छन् । सबैभन्दा बढी १५ देखि २८ वर्षका ७८ प्रतिशत युवा कामका लागि बाहिर जाने गरेका छन् । तीमध्ये ३१ प्रतिशत साउदी अरेबिया पुगेका छन् भने अन्य देशमा संयुक्त अरब इमिरेट्स, दक्षिण अफ्रिका, अमेरिका र यमन छ । यसबीच ५१ हजार जति बेपत्ता वा सम्पर्कविहीन भएका छन् । बेलायतमा एक लाख इथियोपियन रहेको अनुमान गरिन्छ तर यहाँको कागजात सजिलोसँग पाउन धेरैले इरिट्रियाबाट आएको भन्ने गरेका छन् ।
इथियोपियासँग बहुमूल्य धातु सुन, प्लेटिनम र तामाको भण्डार छ भने खनिज र औद्योगिक सामग्री ट्यान्टलम, फस्फोरस, फलाम, नुन, पोटास र सोडा खरानी प्रचुर मात्रामा पाइन्छ । इथियोपियामा नदीनाला प्रशस्त भएकाले जलविद्युत्को सम्भावना उत्तिकै छ । बहुमूल्य रत्न तथा अन्य जवाहरत धेरै छन् । अफ्रिकामै प्राकृतिक ग्यासको सबैभन्दा ठूलो भण्डार छ । करिब २० प्रतिशत जमिनमा उत्पादन र विशाल चरन क्षेत्र प्रयोग गरेर पशुपालन गरिन्छ । १० देखि १५ प्रतिशत मात्र वन क्षेत्र बाँकी छ ।
यहाँको प्रतिव्यक्ति आय प्रतिवर्ष १०२० डलर मात्र छ । तर, १५ वर्षमा वार्षिक १० प्रतिशतले आर्थिक वृद्धि भएको छ । जुन संसारमै उच्च दर हो । राजनीतिक स्थायित्व र आन्तरिक युद्धबाट बाहिर निस्कन सक्यो भने इथियोपियाले छोटो समयमै व्यापक सुधार गर्न सक्ने आधार प्रशस्त छ ।
सन् १९९१ मा इथियोपियाको पिपुल्स रिभोलुशनरी डेमोक्रेटिक फ्रन्टले अदिस अबाबालाई कब्जा गर्यो र राष्ट्रपति मेन्गिस्टुलाई देश छोड्न बाध्य तुल्यायो । सन् १९९३ मा जनमत संग्रहपछि इरिट्रिया स्वतन्त्र भयो । सन् १९९४ को नयाँ संविधानले इथियोपियालाई जातीय आधारमा क्षेत्र विभाजन गर्यो । सन् १९९५मा मेलेस जेनावीले प्रधानमन्त्रीको पद ग्रहण गरे । सन् १९९९ देखि इथियोपिया र इरिट्रियनबीच सीमामा किचलो भयो र त्यसले युद्धको रूप लिएर ठूलो धनजनको क्षति भयो । अन्ततः सन् २०१८ मा शान्ति सम्झौता भयो ।
यसबीच सन् २००४ मार्चमा २० लाखभन्दा बढी मानिसलाई सुख्खा, अनिकाल लागेकाले कम उब्जनी हुने उच्च भूमिबाट टाढा सार्न पुनर्वास कार्यक्रम शुरु भयो । सन् १९३७ को लडाइँमा इटालीले लुटेको एक्सम ओबिलिस्कको पहिलो खण्ड रोमबाट इथियोपिया फर्काइयो । सन् २००६ को नोभेम्बरमा इथियोपियाली सेना देशको ठूलो भाग नियन्त्रणमा लिएका अल–सबाब इस्लामवादीलाई हटाउन सोमालिया प्रवेश गरे । सोही वर्ष डिसेम्बरमा निर्वासित पूर्व तानाशाह मेन्गिस्टु हेले मरियमलाई १२ वर्षको कानुनी कारबाहीपछि उनको अनुपस्थितिमा नरसंहारको दोषी ठहर्याएर मृत्युदण्डको सजायँ सुनाइयो । अगस्ट २०१२ मा प्रधानमन्त्री मेलेस जेनावीको मृत्यु भएकाले सेप्टेम्बरमा परराष्ट्रमन्त्री हेलेमारियम देसालेन उत्तराधिकारी बन्न पुगे ।
सन् २०१६ को अक्टोबरदेखि महिनौँसम्म चलेको हिंसात्मक प्रदर्शनपछि सरकारले संकटकाल लगायो । प्रदर्शन जारी रहँदा प्रधानमन्त्रीले सन् २०१८ को फेब्रुवरीमा राजीनामा दिए । उनी नै त्यहाँको इतिहासमा स्वेच्छाले राजीनामा दिने पहिलो प्रधानमन्त्री हुन् । अरु सब कि मृत्यु कि त पदच्युत भएका छन् ।
संसदले इथियोपियामा दोश्रो पटक महिला राष्ट्रपति साहले–वर्क जेउडेलाई निर्वाचित गर्यो । सन् २०१९ को जुनमा सेना प्रमुख सेरे मेकोनेन र अम्हारा राज्यका गभर्नर अम्बाचेउ मेकोनेनले संघीय सरकारविरुद्ध असफल कू को प्रयास गरे । फलस्वरूप उनीहरू मारिए । कोभिडका कारण सन् २०२० नोभेम्बरमा हुने भनिएको निर्वाचन हुन सकेन तर टिग्रे क्षेत्रले भने आफ्नो छुट्टै निर्वाचन गराउँदा केन्द्र सरकारले मान्यता दिएन र असंवैधानिक घोषणा गर्यो । त्यहाँ सैनिक पठाएपछि हिंसा भड्कियो । युद्ध तथा अनिकालको कारण ५० वर्षमा करिब तीस लाख मानिसले ज्यान गुमाउनुपरेको इतिहासमा दुई विश्वयुद्धबाहेक यो नै सबभन्दा ठूलो क्षति हुनुपर्छ ।
इथियोपियन पिपुल्स रिभोल्युशनरी डेमोक्र्याटिक फ्रन्टबाट तेस्रो पटक सन् २०१८ को निर्वाचनपछि नयाँ आशासहित प्रधानमन्त्री बनेका एबी अहमद अलीले छिमेकी राष्ट्र इरिट्रियासँगको सम्बन्धलाई सुधार गरेकोमा सन् २०१९ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । ओरोमो जातिबाट पहिलो प्रधानमन्त्री बन्न सफल अलिले सन् २०१९ देखि प्रोस्पेरिटी पार्टी स्थापना गरी नेतृत्व गरिरहेका छन् । लामो समयसम्म आन्तरिक समस्यामा जकडिएको देशमा बाह्य शक्तिको स्वार्थका कारण पनि झन् बढी समस्या थपिने ज्वलन्त उदाहरण हो । लामो र सम्पन्न इतिहास बोकेको अनि भरपुर प्राकृतिक स्रोत तथा प्रशस्त नागरिक भएको देशलाई सही नेतृत्व दिन सकिएन, सदैव यो वा त्यो नाममा विद्रोह या युद्ध भइराख्यो भने संसारकै विपन्न देशको सूचीमा पर्नु अवश्य पनि सुखद विषय हैन । यस्ता घटनालाई सदैव गिजोलिरहँदा कल्पना गरेभन्दा धेरै धनजनको क्षति पुग्न सक्ने शिक्षा अन्य देशले पनि सिक्न जरुरी छ ।
टिप्पणीहरू