प्रधानमन्त्रीले सत्ताका लागि मरिहत्ते गरेको डा. बाबुरामको आरोप
नेपाल समाजवादी पार्टीको एक समूहका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताका लागि मरिहत्ते गरेको आरोप लगाउनुभएको छ ।
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । काँग्रेस र एमालेलाई घुमाएर प्रधानमन्त्री प्रचण्डले आफ्नो सत्ता स्वार्थ पूरा गरिरहेको डा, भट्टराईको दाबी छ ।
'कहिले एमालेको पछि लागेको छ, कहिले काँग्रेसको पछि लागेको छ । प्रचण्डजीले उहाँहरुलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ', उहाँले दावाका साथ भन्नुभयो ।
त्यसक्रममा भट्टराईले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरुलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरेपनि प्रधानमन्त्री प्रचण्डको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर पनि गर्नुभयो । प्रचण्डको सत्ता मोहले वाक्क भएकाहरुलाई समाजवादी धारमा अघि बढाउन चुनावी सहकार्य गरेपनि माओवादीसँग एकीकरण भएर जाने निर्णय भने नगरेको उल्लेख गर्नुभयो ।
‘माओवादी आन्दोलनमा लागेकाहरुलाई समाजवादतर्फ लैजानका लागि चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो । प्रचण्डजीलाई मेरो विश्वास थिएन । उहाँ त सत्ताको निम्ति जे पनि गर्नुहुन्छ । तपाई कुर्सीमा बस्ने हो भनिदिएपछि जता पनि बसिदिनु हुन्छ । त्यो मलाई थाहा थियो । तर माओवादी आन्दोलन भित्रका साथीहरु अब हामी नयाँ ढंगले जान्छौं । माओवादी युगको, माओवादी विचारको समय सिद्धियो । त्यसले आफ्नो काम सम्पन्न गर्यो । अब नयाँ ढंगले रुपान्तरणसहितको नयाँ समाजवादी धुव्रीकरणको जुन कुरा गर्नुभएको छ । हामी त्यसमा आउँछौं भनेको हुनाले एउटा साझा चुनाव चिन्ह लिएर अहिले जाउ, दुई पार्टी अलग अलग भएपनि हुन्छ । त्यहाँ पार्टी एकता कहीँ पनि भनिएको थिएन', भट्टराईले भन्नुभयो ।
प्रचण्ड निर्वाचनअघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरेपनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै उहाँले आक्रोश पनि व्यक्त गर्नुभयो ।
'जब निर्वाचन भयो । खोलो तर्यो , लौरो बिस्र्यो । प्रचण्डजी चुनाव जितिसकेपछि त उहाँ फेरि पानीको भिजेको बिरालो जस्तो भएको मान्छे चुनाव जितिसके पछि त शेरजस्तो भएर गर्जन थाल्नुभयो', डा, भट्टराईको आरोप छ, 'अहिले देखिहाल्नु भयो, फेरि उही कुरा दोहोर्याउन थाल्नुभयो ।’
टिप्पणीहरू