रवि लामिछानेलाई उम्काउन नयाँ भाष्य बनाइएको काँग्रेसको ठहर

सुन्नुहोस्

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग पूरा नभए संसद्को बजेट अधिवेशन चल्न नदिने संकेत दिएको छ । उक्त माग राख्दै संसदको अघिल्लो अधिवेशनका बैठकहरु बारम्बार अवरुद्ध पारेको उसले पूर्ववत् अडान कायम रहेको प्रष्ट पारेसँगै बजेट अधिवेशन प्रभावित हुने देखिएको छ । 

पार्टीका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको अडान यथावत रहेको बताए । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले ‘एकजना व्यक्तिका लागि संसदीय छानबिन समिति बन्न सक्दैन’ भन्ने भाष्य खडा गरिएको भन्दै असन्तुष्टि पनि जनाए ।

लेखकले सहकारीका सम्पूर्ण मुद्दा छोडेर काँग्रेस गृहमन्त्रीको पछि लागेको भन्ने सत्तापक्षको आरोपको खण्डन गरे ।

यस सम्बन्धमा पार्टीको अडानबारे प्रष्ट्याउँदै उनले भने, ‘एक जना व्यक्तिकाविरुद्ध लक्षित भन्ने कुरामा त मेरो धेरै टिप्पणी छैन । देशको उपप्रधानमन्त्री व्यक्ति मात्र होइन । देशको गृहमन्त्री पनि व्यक्ति मात्र होइन । प्रष्ट उहाँको संलग्नता देखिएको हुनाले समग्रतामा हेर्ने कुरा पनि ठीक छ । दुई वटा टिओआर गरौं । एउटा समग्रतामा हेरौं । र, उहाँमाथि पनि प्रश्न उठेको हुनाले त्यसमा पनि छानबिन गरेर अघि बढ्ने कुरामा जानुपर्छ भन्ने कुरा मलाई लागिराखेको छ ।’ 

काँग्रेसले भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक लेखकले संसदको बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका बारेमा सोही बैठकले आधिकारिक धारणा बनाउने जानकारी दिएका छन् ।

सरकारले प्रतिपक्षलाई हेपेको गुनासो गर्दै उनले त्यसरी अब संसद बैठक नचल्ने बताए ।

टिप्पणीहरू