कोशीमा किचलो- हिक्मत कार्कीको दाबीविरुद्ध केदार कार्की सर्वोच्चमा

कोशीमा किचलो- हिक्मत कार्कीको दाबीविरुद्ध केदार कार्की सर्वोच्चमा
सुन्नुहोस्

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ सांसदको हस्ताक्षरसहित उनले आज मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् । 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले भोलि अपराह्न ५ बजेसम्मको समयसीमा तोकेर मुख्यमन्त्रीमा दाबी पेश गर्न हिजो आह्वान गरेका थिए । सोहीअनुसार पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् ।   

यता,मुख्यमन्त्री केदार कार्की भने सरकार गठनका लागि आह्वान गर्ने प्रदेश प्रमुख खापुङको निर्णय असंवैधानिक रहेको दाबी गर्दै रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । रिट निवेदनमा अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोकी उनले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । 

मुख्यमन्त्री कार्कीले आफू १६८ (५) अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धाराअनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।

कांग्रेसका बिद्रोही सांसद कार्की एमालेको समर्थनमा २०८० असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिएको थियो ।

तर, गत फागुन २१ गते केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि सोही अनुकूलको गठबन्धन बनाउन एमाले र माओवादीका ५२ सांसदले समर्थन फिर्ता लिए । त्यसपछि नयाँ सरकार बनाउने र अहिलेकै सरकारलाई निरन्तरता दिनेतर्फ दुबै पक्षको होडबाजी चल्दै आएको छ । 

हिजोमात्रै एमाले र माओवादीका नेताहरुले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएका थिए । लगत्तै मुख्यमन्त्री कार्कीले पनि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई पुनःस्मरण गराएका थिए । 

यसैबीच प्रदेश प्रमुखले आज उपधारा ५ बमोजिमकै सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेपछि मुख्यमन्त्री कार्की कानुनी लडाईमा गएका हुन् ।

टिप्पणीहरू