सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता ठहरिने थप अधार भेटिएको कांग्रेसको दाबी

सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता ठहरिने थप अधार भेटिएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संग्लनता पुष्टि हुने थप तथ्य र प्रमाण भेटिएको दाबी गरेको छ । 

आज संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता ठहरिने थप आधार फेला परेकाले संसदीय छानविन समिति गठन हुनुपर्ने आफूहरुको अडान कायमै रहेको बताए । 

'सहकारीको रकम अपचलन, हिनामिना र ठगीमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता भएको तथ्य र प्रमाण प्रशस्त छन्', उनले भने, 'सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ, त्यो आवश्यक छ भन्ने थप पुष्टि भएको छ ।' 

लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई जोगाउन राज्यको संयन्त्र दुरुपयोग भइरहेको आरोप पनि लगाएका छन् ।

काँग्रेसले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन नभए संसद चल्न नदिने अडानसमेत कायमै राखेको छ ।

टिप्पणीहरू