सुदन किरातीद्वारा आफूमाथि छानबिन माग

सुदन किरातीद्वारा आफूमाथि छानबिन माग

पूर्वपर्यटन मन्त्री सुदन किरातीले पशुपतिमा निःशुल्क शव दहनका लागि विद्युतीय उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपको खण्डन गर्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।  

विद्युतीय शवदाह उपकरण खरिदमा चार करोड रुपैयाँ अनियमितता भएको र तत्कालीन मन्त्री राईको संलग्नता रहेको दाबीसहित ‘योहो टेलिभिजन’ले श्रृंखलबद्ध रिर्पोट प्रशारण गरेपछि उनले आफूमाथि छानबिन गर्न भनेका हुन् । पूर्वमन्त्री राईले यसलाई आफूमाथिको नियोजित षड्यन्त्र पनि भनेका छन् । 

‘हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथजस्तो पवित्र स्थलमा पुण्यको काम गर्ने उद्देश्यले विद्युतीय उपकरणद्वारा निशुल्क शव दहन गर्ने कार्यक्रम हाम्रै कार्यकालमा अघि बढाइएको थियो’, उनले भनेका छन्, ‘यतिबेला योहो टेलिभिजनको समयचक्रलगायत सञ्चारमाध्यममा समाचार प्रशारित गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको छ ।’ 

पूर्वमन्त्री राईले हालका मन्त्री तामाङलाई यस विषयमा छानबिन समिति बनाएर ‘दूधको दूध पानीको पानी’ गरिदिन आग्रह गरेका छन् । 

‘उठाइएको विषयको छानविन गर्न तत्काल छानविन समिति गठन गरी दूधको दूध पानीको पानी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरिदिनुहुन जोडदार माग गर्दछु’, उनले भनेका छन् ।

टिप्पणीहरू