जसपा विभाजनको ‘साइट इफेक्ट’, मधेस सरकारबाट फिर्ता हुँदै माओवादी
सत्तारुढ एमाले र माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । माओवादी निकट स्रोतले बताएअनुसार सो पार्टीले आजै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने र समर्थन फिर्ता लिने तयारी गरेको छ ।
मधेसमा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार छ । मुख्यमन्त्री सरोज यादवलाई एमाले, माओवादी र एकीकृत समाजवादीले समर्थन दिएका हुन् ।
तर, उक्त पार्टी विभाजन गरेर अशोक राईको नेतृत्वमा जसपा गठन भएपछि सत्ता राजनीति तरंगित छ । विभाजित पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार गुमाएको तर्कसहित माओवादीले समर्थन फिर्ता लिने तयारीमा जुटेको बताइएको छ ।
अर्कोतिर, मन्त्रालय भागबण्डामा मुख्यमन्त्री यादवले सहमति तोडेको आरोप माओवादीले लगाइरहेको छ । माओवादीबाट युवराज भट्टराई समीर उद्योगमन्त्री छन् भने संसदीय दलका नेता भरत साहलाई वन मन्त्रालयको जिम्मेवारी दिएको छ । तर. साहले उक्त मन्त्रालय सम्हालेका छैनन् ।
अर्थ मन्त्रालय दिने सहमति गरेर विश्वासको मत लिएका मुख्यमन्त्रीले भनिएको मन्त्रालय आफैँ राखेको भन्दै असन्तुष्ट रहँदै आएका माओवादी केन्द्रका नेताहरु त्यसकारण पनि तत्काल सरकारबाट हट्न चाहेका हुन् । तर, केन्द्रबाट निर्देशन नपाएकाले निर्णय गर्न सकेका छैनन् ।
मधेश सरकार छाड्ने विषयमा एमालेका नेताहरु पनि छलफलमा रहेको बताइएको छ ।
टिप्पणीहरू