छिन छिनमा सत्ता थाम्दै,छाड्दै नाडी छाम्दै

छिन छिनमा सत्ता थाम्दै,छाड्दै नाडी छाम्दै

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालले सरकारबाट बाहिरिने तयारी गरेको छ । एमाले र माओवादी केन्द्रले आफू नेतृत्वको मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जसपा केन्द्र सरकारबाट बाहिरिन लागेको हो । 

यससम्बन्धमा निर्णय लिन अहिले बालकुमारीस्थित पार्टी मुख्यालयमा सो पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिनेबारे कुराकानी चलिरहेको जसपा नेपालका एक शीर्ष नेताले जानकारी दिए । 

'लुम्बिनीका दुई सांसदलाई अशोक राईतिर लगियो,राजनीति अब २०५२ तिर पो फर्कियो त !'

पार्टी विभाजनको पीडा सहेर पनि सरकार स्थिरताको पक्षमा रहेको तर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको व्यवहारले सरकारमा रहने स्थिति नरहेको ती नेताले बताए । 'हामीलाई सरकारबाट गल्हत्याउनका लागि मधेश सरकारबाट एमाले र माओवादी फिर्ता भएका हुन्', उनले  भने, 'लुम्बिनीका दुई सांसदलाई अशोक राईतिर लगियो,राजनीति अब २०५२ तिर पो फर्कियो त !'

२०५२ सालपछि सरकारका लागि साना पार्टी तोडफोड गरेकै शैलीमा अहिले सत्तापक्ष अघि बढेको आरोप लागिरहेको छ । जसपा विभाजनमा प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको आशंका भैरहेको छ ।     

अहिले जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री छन् । उनी विदेश रहेकै बेला जसपा फुटेको थियो । संघीय संसदमा १२ सिट रहेको सो पार्टीका सात संसद लिएर अशोक राईले नयाँ दल गठन गरेपछि संसदमा उपेन्द्रको हैसियत कमजोर बनेको छ । 

यता,उपेन्द्रले अब मधेसमा कांग्रेससँग गठबन्धन गरेर सरकार बनाउने सम्भवना छ भनिंदैछ । कांग्रेस,जसपा,एकीकृत समाजवादी र लोसपा मिल्दा बहुमत पुग्ने हिसाब निकालिएको छ । तर,१९ सिट रहेको जसपाका सांसदहरु कति संस्थापनमा रहन्छन् र अशोक राईतिर खुल्छन् भन्ने यकिन भैसकेको छैन । 

मधेसको तरंगले संघीय सरकारको गठबन्धनमा तल-माथि हुन्छ कि हुँदैन भनेर बालकोट र बालुवाटारले चेक गर्न खोजेको अनुमानसमेत गरिएको छ ।
 

टिप्पणीहरू