काँग्रेसले संसद तताउने, भ्रातृ संगठनहरुले सडक
नेपाली काँग्रेसका भ्रातृ संगठनहरुले सहकारी ठगी प्रकरण विरुद्धमा आन्दोलन गर्ने भएका छन् । नेपाल महिला संघले भोलि र नेपाल तरुण दलले पर्सि राजधानीमा विरोध र्याली निकाल्ने तयारी थालेका छन् ।
भोलि दिउँसो साढे १ बजे रत्नपार्कबाट विरोध र्याली सुरु हुने महिला संघले जनाएको छ । त्यस्तै पर्सि दिउँसो १२ बजे माइतीघरबाट नयाँ बानेश्वरसम्म र्याली निकाल्ने तरुण दलको तयारी छ ।
तरण दलले आज जारी गरेको विज्ञप्तिमा जेठ २ गते दिनको १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म सहकारी ठगी विरुद्ध र्याली निकाल्ने निर्णय गर्दै आम सहकारी पीडितहरुलाई पनि विरोध र्यालीमा सहभागिताको लागि आह्वान गरिएको छ ।
काँग्रेसको आज बिहान बसेको पदाधिकारी बैठकले पनि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध गर्ने अडानलाई कायम राखेको छ । संसदको वर्षे अधिवेशनको पहिलो दिन गत शुक्रबार काँग्रेसले अवरुद्ध गरेपछि संसद बैठक भोलिसम्म स्थगित भएको हो । भोलिको संयुक्त बैठकमा राष्ट्रपतिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
टिप्पणीहरू