कांग्रेसप्रति आक्रोशित ओली प्रधानमन्त्री कार्यालयमा

कांग्रेसप्रति आक्रोशित ओली प्रधानमन्त्री कार्यालयमा
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँहरुले भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री र अध्यक्षले संसदको गत्यारोध अन्त्य, सहकारी प्रकरणमा नेपाली कांग्रेसले उठाइरहेको माग, सरकारको नीति तथा कार्यक्रम लगायत समसामायिक विषयमा कुराकानी गरेको बताइएको छ ।

काँग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छनविन गर्न संसदीय समिति गठनको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ । सत्ता र प्रतिपक्ष आ-आफ्नै अडानमा रहँदा संसद्को कामकारवाही अवरुद्ध भैरहेको छ । 

हिजो नीति तथा कार्यक्रम प्रस्तुतपछि काँग्रेस संसद बैठकमा अवरोध गर्दा दुबै सदनले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नसमेत पाएन । जेठ १० गते प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित गरेर १५ गते बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक प्रावधान छ । 

तर, संसद सुचारु गर्न सत्ता र प्रतिपक्ष गम्भीर देखिएका छैनन् । एमाले अध्यक्ष ओलीले सार्वजनिकरुपमै सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न नसकिने स्पस्ट अडान लिँदै आउनुभएको छ । 

आजै पनि प्रधानमन्त्री भेट्न जानुअघि संसदीय दलको बैठकमा उहाँले संसदीय समिति गठन नगर्ने बताउँदै काँग्रेसप्रति चर्को आक्रोश पोख्नुभएको थियो ।

टिप्पणीहरू