धनराजलाई ओलीले हप्कीदप्की गरेको आरोप, एमालेको कार्यकर्ता नठान्न चेतावनी

धनराजलाई ओलीले हप्कीदप्की गरेको आरोप, एमालेको कार्यकर्ता नठान्न चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेकपा एमाले र सभामुखका कारण आज प्रतिनिधिसभामा बैठकमा मुठभेडको अवस्था निम्तिएको दाबी गरेको छ । 

प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्दै सो पार्टीका महामन्त्री तथा सांसद गगनकुमार थापाले त्यस्तो बताएका हुन् । सदनमा आफ्ना कुरा राख्न पाउने प्रतिपक्षीको अधिकारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कुण्ठित गर्न खोजेको र सभामुख एउटा पार्टीको नेताको आदेशपालकको भूमिकामा देखिएको उनको आरोप छ । 

त्यसक्रममा थापाले आफ्नो पार्टीका उपसभापति धनराज गुरुङलाई एमाले अध्यक्ष ओलीले संसदमा हप्कीदप्की गरेको पनि बताए । ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता ठानेर तर्साउन खोजेको बताउँदै उनले त्यसको आलोचना गरे ।

'एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो । उहाँले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नु भए जस्तो लाग्यो । एमालेका सांसदलाई उहाँको कुरा हो । हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार पनि राख्नुहुन्छ होला । उहाँहरूको सम्बन्ध पनि त्यस्तै होला', महामन्त्री थापाले भने, 'तर, नेपाली कांग्रेस पार्टीका बारेमा पनि नसोच्नुहोला । सांसदका बारेमा पनि नसोच्नुहोला । हामी तपाईँका कार्यकर्ता होइनौँ । तपाईँले हामीलाई अह्राउने होइन ।'

टिप्पणीहरू