१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौं : प्रधानमन्त्री

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न सम्झौता भएकाले निजी क्षेत्रलाई निश्चिन्त भएर विद्युत उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास उल्लेख गर्नुभएको छ ।

भन्नुभयो, ‘भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौं । प्रशारण लाइनबाट भारत हुँदै बङ्गलादेशसँग विद्युत् व्यापार गरिनेछ ।’ यो नेपालको जलविद्युत क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धिको यात्रा संकल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता भएको प्रधानमन्त्रीको भनाई छ ।


उहाँले आन्तरिक रुपमा पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युतको खपत बढाउँदै जाने सरकारको योजनाबारे पनि बताउनुभएको छ । कुनै बेला दैनिक १६ घण्टाको चरम लोडसेडिङको अवस्थामा रहेको मुलुकमा यतिखेर वर्षायाममा विद्युत निर्यात गर्ने अवस्थामा पुगेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘यो अवस्था सिर्जना गर्नमा निजी क्षेत्रको भूमिका प्रशंसनीय छ ।’

मुलुकमा अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ । करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा छन् । विद्युत उत्पादनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

टिप्पणीहरू