भीम रावलले बालकोट नटेकेपछि

भीम रावलले बालकोट नटेकेपछि
सुन्नुहोस्

नवौ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय उपाध्यक्ष निर्वाचित डा. भीमबहादुर रावल अब एमालेमै रहलान् वा छोड्लान् भन्ने निधो छैन । पार्टी विभाजनअघि १० बुँदे सम्झौताको ड्राफ्ट बनाउनसमेत उल्लेखनीय भूमिका खेलेर राजनीतिक जीवनमा सबैभन्दा बढी माधव नेपालसँग नजिक रहेका रावल अन्ततः एमालेमै बसेका थिए । 

त्यसपछि लगातार अध्यक्ष केपी ओलीको अपमान खेपिरहेका छन् । १० बुँदे सहमतिपछि सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी खोसियो । दशौं महाधिवेशनमा पार्टी अध्यक्षको उम्मेदवार बनेपछि ओली र रावलको सम्बन्ध झनै चिसिन पुग्यो । 

ओलीले आफ्नाविरुद्ध लडेपछि २०७९ को प्रतिनिधिसभा चुनावका लागि अछाम क्षेत्र नम्बर १ बाट एकल नाम सिफारिस हुँदा पनि टिकट दिएनन् । चुनावमा पनि कुनै ठाउँ खटाइएन । २०७४ मा सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सिटमध्ये १२ सिट जितेको एमाले २०७९ मा रावल निस्क्रिय हुँदा दुई सिटमा खुम्चियो । रावलको निष्क्रियताको प्रभाव कर्णाली प्रदेशमा समेत परेको अनुमान गरिन्छ । सुदूरपश्चिम प्रदेश सभामा समेत ३२ प्रत्यक्ष सीटमध्ये एमालेले १७ जितेको थियो ।

बुढा र सिंहले रातभर पर्खेर बिहान ४ बजे ओलीलाई भेट्न पाएका थिए ।

हुन त २०७४ मा वामगठबन्धन थियो तर २०७९ मा रावललाई टिकट दिएर वा नदिएर पनि एमालेका पक्षमा परिचालन गर्न सकिएको भए अहिलेको भन्दा राम्रो अवस्था हुने एमालेकै धेरै नेताको बुझाइ रहेको पाइन्छ । पछिल्लो पटक वैशाख दोस्रो साता गोदावरीमा सम्पन्न विधान महाधिवेशनमा प्रतिनिधि कार्ड नै नबनाइएपछि भने रावल निकै आक्रोशित छन् । १० औं महाधिवेशनका प्रतिनिधिहरू स्वाभाविक रूपमा विधान महाधिवेशनमा प्रतिनिधि बन्ने अवस्था थियो । त्यसैमा उपमहासचिव विष्णु रिमालले रावलबारे गरेको टिप्पणीले झन् उत्तेजित बनाउने काम गर्‍यो । 

५० वर्ष रगत, पसिना बगाएको पार्टी नछोड्ने बताउँदै आएका रावल अहिले भने के गर्ने भन्ने परामर्शमा छन् । धेरैले उनलाई नयाँ कम्युनिष्ट पार्टी बनाएर जानुपर्ने र चुनावमा कसैसँग एकता गर्नुपर्ने सुझाव दिने गरेका छन् । केहीले भने ओलीसँग निर्णायक छलफल गर्न सुझाव दिने गरेको बताइन्छ । यस्तो तर्क गर्नेहरूमध्ये कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा र युवा नेता बचनबहादुर सिंह पनि हुन् । यसक्रममा गत साता बुढा र सिंहले रातभर पर्खेर बिहान ४ बजे ओलीलाई भेट्न पाएका थिए । उनीहरूले रावलले एमाले छोद्दा ठूलो क्षति पुग्ने भएकोले रोक्नुपर्ने तर्क दिएका थिए । ओलीले रावलजीलाई मेरो घरमा आउन गाह्रो भयो, पार्टी अफिसमा भेटेर छलफलका लागि सहज बनाएकै हो, खोई त त्यसपछि छलफल गरेको भन्ने जवाफ दिए । 

बुटवलको आठौं महाधिवेशनमा ओली र रावल अध्यक्ष र उपाध्यक्षमा पराजित भए तर रावलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको थिइन भन्दै शपथ लिएनन् । त्यसपछि ओली नै घट्टेकुलोको घरमा गएर केन्द्रीय सदस्यको शपथ लिन मनाएका थिए । रावलले  अबचाहिँ ओलीसँग छलफल गरेर एमालेमै भूमिका खोज्नुपर्ने तर्क पनि कतिपयको छ । 

ओलीले रावलले पार्टी अफिसको वार्तापछि कुनै छलफलको प्रयास नगरेको भनेर बुढा र सिंहलाई जवाफ दिए पनि ती दुईबीच वार्ताको पहल गर्ने दयालबहादुर शाहीलाई बालकोटमा अपमान गर्न थालिएको छ । सँधै ओली पक्षका शाहीले किन रावललाई बोक्न थाल्यो भनेर बालकोट प्रवेश निषेधजस्तै गरिएको स्रोतको भनाइ छ । प्रतिनिधिसभा सदस्य र एमाले केन्द्रीय सदस्यसमेत रहेका शाहीले भने सुदूरपश्चिम मात्रै होइन मुलुकभर एमाले बलियो बनाउन रावललाई सक्रिय बनाउनु पर्ने तर्क सार्वजनिकरूपमै राख्दै आएका छन् । उनै शाही कुनै बेला रावलबाट कारवाहीमा परेका थिए तर शाहीले रावलको महत्व बल्ल बुझेर विगतको व्यवहार भुलेको चर्चा छ । 

नेता रावललाई अहिले धेरैले विगतमा महासचिव वा अध्यक्षमा दावेदारी गर्नेहरूलाई एमालेले राम्रो भूमिका दियो तर तपाईंलाई खोई के दियो भन्दै एमाले छोड्न यसरी पनि उकास्ने गरिएको छ । सिपी मैनाली नेतृत्वमा हुँदा माधव, झलनाथ हुँदा सिपी–माधव, मदन भण्डारी हुँदा सिपी, माधव हुँदा वामदेव, ओली, झलनाथ, झलनाथ हुँदा ओली–माधव–वामदेवको पार्टीमा राम्रो भूमिका रह्यो । नवौंमा अध्यक्ष बनेका ओलीलेसमेत माधव–झलनाथ–वामदेवसंग ठीकै व्यवहार गरे तर दशौंपछि रावलसित किन यति कठोर व्यवहार भनेर रावल पक्षधरले सोध्ने गरेका छन् । त्यसैले अब तपाईं एमालेमा बस्नु हुन्न भन्ने सुझाव उल्लेखित तर्कका साथ गर्ने गरिएको छ । अझै पनि रावलले राजनीति गर्ने उमेर छ, विकल्प खोज्नुपर्छ भन्नेहरू पनि थुप्रै छन् ।
 

टिप्पणीहरू