बालुवाटार बैठकपछि काँग्रेसका नेताहरु चिसै पानीले नुहाउन तयार ?
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्ष सहमत भएका छन् । बालुवाटारमा शीर्ष नेताहरुबीच भएको आज साँझको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।
छानबिन समितिको क्षेत्राधिकार मस्यौदा तयार पार्न कानुनमन्त्री पदम गिरीको संयोकत्वमा बनाइने कार्यदलमा तीन जना सदस्य तोकिएका छन् ।
नेपाली काँग्रेसका जीवन परियार,एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल रहेको कार्यदल गठन गर्ने भनिएको छ । कार्यदलको बैठक भोलि बिहान ८ बजेलाई राखिएको छ ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली,काँग्रेस सभापति शेरबहादुर देउवा,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काँग्रेस नेताहरु गगन थापा,रमेश लेखक र कृष्ण सिटौला सहभागी थिए ।
काँग्रेसले ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको उल्लेख गर्दै सम्बन्धित सहकारी संस्थाको छानबिन गर्नुपर्ने माग राख्दै आएको छ । बालुवाटारमा समग्र समस्याग्रस्त सहकारी संस्थालाई छानबिनमा समेट्ने कोणबाट छलफल भएपछि कार्यदल गठनको बाटो खुलेको स्रोतको दाबी छ ।
टिप्पणीहरू