दाउन्नेमा दिनदिनै दशा
केही दिनदेखिको भारी शीतलहरका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ । शीतलहरले चिप्लिने भएपछि सवारी साधन बीच सडकमा रोकिएका छन् । जसले गर्दा धेरै ट्राफिक जाम भएको छ ।
मालवाहक र यात्रुवाहक सवारी साधनको लाम लागेको छ । जाममा अड्किएका एक यात्रुले भने,‘शीतलहरले गर्दा माटो हिलो भएको छ । सवारी साधनहरु चिप्लिएर अगाडि बढ्न सकेको छैन । सरोकारवाला निकायले माटो सोहोर्न र निर्माणको काम छिटोछरितो सम्पन्न गर्नतिर ध्यान दिए हुन्थ्यो ।’
नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर विकास खनालले सुख्खा ग्राभेल हालेर सडक सुचारु गरिएको बताए । जनआस्थासँग भने,‘अस्ति साँझसम्म जाम थियो । ड्राई ग्राभेल हालेर हाल सडक सुचारु गरिएको छ । शीतलहरका कारण सडक बिग्रिएको बिग्रियै छ ।’
उनका अनुसार हाल उक्त सडकखण्डमा कल्भर्ट निर्माणको काम भइरहेको छ । एक लेन मात्र सञ्चालन भइरहेकोमा अहिले दुई लेन खोलिएको उनले जानकारी दिए । त्यसैगरी,वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेका छन् ।
टिप्पणीहरू