दर्ता नभएका कन्सल्टेन्सीको बिगबिगी,नियामकको बेवास्ता

दर्ता नभएका कन्सल्टेन्सीको बिगबिगी,नियामकको बेवास्ता

उच्च शिक्षाका लागि पछिल्लो समय बाहिरिने युवा पुस्ताको संख्या बढ्दो छ । अमेरिका, अष्ट्रेलिया,क्यानाडालगायतका युरोपेली मुलुक नेपाली विद्यार्थीहरुको रोजाइमा परिरहेको छ । विदेश पढ्ने नाममा वर्षेनी अर्बौं रुपैयाँ बाहिरिइरहेको छ । नेपालमा ‘लर्न एण्ड अर्न’ को अवसर नभएको विद्यार्थीहरुको गुनासो छ । 

उच्च शिक्षा हासिल गरे पनि रोजगारी नपाउने र रोजगारी पाएपनि राम्रो तलब नहुने उनीहरु बताउँछन् । जसका कारण विदेश पलायन हुने विद्यार्थीको संख्या निरन्तर बढ्दै गएको हो । विदेश जाने विद्यार्थीलाई सहजीकरण गर्ने नाममा कन्सल्टेन्सीहरु खुलेका छन् । शहरी क्षेत्रमा घरैपिच्छेजस्तो कन्सल्टेन्सीको बोर्ड देखिन्छ । 

उपत्यकाबाहिर पनि छ्याप्छ्याप्ती कन्सल्टेन्सी सञ्चालनमा आएको छ । तर, अधिकांशको दर्ता नै छैन । दर्ताबेगर नै सञ्चालन हुँदा पनि नियामक निकायले अनुगमन र कारबाहीमा चासो देखाएको छैन । बाँकेको कोहलपुर नगरपालिकाभित्र सञ्चालित अधिकांश कन्सल्टेन्सीको दर्ता नै पाइँदैन ।

तर, सोबारे नगरपालिका र जिल्ला प्रशासन कार्यालय मौन छन् । स्रोतका अनुसार एकाध कन्सल्टेन्सी कम्पनी र राजश्व कार्यालयमा मात्रै दर्ता भएको छ । स्रोत भन्छ,‘धेरै कन्सल्टेन्सीको दर्ता नै छैन । । केहीचाँहि कम्पनी र राजश्व कार्यालयमा दर्ता भएर सञ्चालनमा छ । ती कन्सल्टेन्सीले कानुनको पालना गरेको छैन ।’

यता, कन्सल्टेन्सीमा योग्य इन्स्ट्रक्टर पनि छैनन् । स्नातक पनि उत्तीर्ण नगरेका शिक्षकले विद्यार्थीहरु पढाइरहेको अवस्था छ । अयोग्य शिक्षकका कारण विद्यार्थीहरु रिजेक्ट हुने सम्भावना उच्च छ । अभिभावकहरुले दर्ता नगरिकन सञ्चालनमा रहेका कन्सल्टेन्सी बन्द गर्न माग गर्दै आएका छन् । 

कन्सल्टेन्सीको नियमन हुनुपर्ने उनीहरुको भनाइ छ । एक अभिभावक भन्छन्,‘कन्सल्टेन्सीमाथि नियमन होस् । ठगी रोकियोस् र बिना दर्ता सञ्चालन भएको कन्सल्टेन्सीलाई कारबाही गरियोस् ।’

ठगीको जोखिममा विद्यार्थी 

अधिकांश विद्यार्थीलाई आफूले पढ्दै गरेको कन्सल्टेन्सीको दर्ता छ कि छैन ? जानकारी छैन । आफूलाई पढाउने शिक्षकको योग्यताबारे पनि उनीहरु बेखबर छन् । अयोग्य शिक्षकका कारण उनीहरु रिजेक्सनमा परिरहेका छन् । विद्यार्थीहरुका लागि सो धोकाधडी हो । उनीहरुले कन्सल्टेन्सीलाई तिरेको शुल्क ‘वालुवामा पानी’ भइरहेको छ । 

यता, कन्सल्टेन्सीले विद्यार्थीबाट मनलाग्दी शुल्क लिइरहेको अवस्था छ । नियामक निकायले फि निर्धारण नगर्दा कन्सल्टेन्सीहरुको शुल्कमा मनोमानी चलेको हो । विभिन्न बहानामा अतिरिक्त शुल्क पनि उठाउने गरिएको छ । 

नक्कली बिलबाट अडिट 

हरेक कम्पनीको वर्षेनि अडिट गर्नुपर्ने व्यवस्था छ । दर्ता नै नभएका कन्सल्टेन्सीहरुले किर्ते अडिट रिपोर्ट बनाउँदै आएको स्रोतको जिकिर छ । स्रोतका अनुसार नक्कली बिल बनाएर आन्तरिक राजश्व विभागमा अडिट गरिँदै आइएको छ । ‘कन्सल्टेन्सीहरुले नक्कली बिल बनाउँछन्, अनि अडिट गराउँछन् । ती कन्सल्टेन्सीले राज्यलाई कर पनि तिरेका छैनन्’,स्रोतले भन्यो । 

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीले कन्सल्टेन्सीमा अनुगमन गर्ने काम भइरहेको दाबी गरिन् । कन्सल्टेन्सीलाई दर्ता गर्न आउन भनेर लगातार सूचना पनि जारी गरिरहेको उनले जानकारी दिइन् । 

जनआस्थासँग उनले भनिन्,‘नगरपालिकाले नियमित अनुगमन गरिरहेको छ । दर्ता गर्न आउन भनि सूचना जारी पनि भइरहेको छ । धेरै दर्ता गर्न आइरहनुपनि भएको छ ।’ जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले कन्सल्टेन्सीको विषयमा आफू जानकार नरहेको बताए । 

‘यसबारे मलाई थाहा छैन, सूचना अधिकारीज्यूलाई जानकारी होला’,उनले भने । यता, सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ्गलाई फोन गर्दा सम्पर्क हुन सकेन ।

टिप्पणीहरू