११ बजे प्रतिनिधिसभा त्यसअघि सहकारी छानबिन समितिको कार्यदल बैठक

११ बजे प्रतिनिधिसभा त्यसअघि सहकारी छानबिन समितिको कार्यदल बैठक

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।  बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । यो कार्यसूची संसदको वर्षे अधिवेशन प्रारम्भ भएको पहिलो दिनदेखि रहँदै आएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको बताउँदै नेपाली काँग्रसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेपछि आज संसद्को बैठक बस्ने सम्भावना बढेको हो ।

गत १ गते संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद ज्ञापन गर्ने कार्यसूची पनि सर्दै आजको बैठकमा आइपुगेको छ । 

यसअघि हिजो साँझ बालुवाटारमा भएको प्रमुख चार दलका शीर्ष नेताहरुको छलफलपछि छानबिन समिति गठनको बाटो खुलेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्ष सहमत भएका हुन् । 

छानबिन समितिको क्षेत्राधिकार मस्यौदा तयार पार्न कानुनमन्त्री पदम गिरीको संयोकत्वमा बनाइएको कार्यदल बैठक आज बिहान राखिएको छ । नेपाली काँग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल कार्यदल सदस्य हुन् । 

काँग्रेसले ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको उल्लेख गर्दै सम्बन्धित सहकारी संस्थाको छानबिन गर्नुपर्ने माग राख्दै आएको छ । तर सत्तापक्ष समग्र समस्याग्रस्त सहकारी संस्थालाई छानबिनमा समेट्ने कोणबाट छलफल अघि बढाउने रणनीतिमा देखिन्छ ।

टिप्पणीहरू