मधेशमा एमाले नेताबीच मारामार

मधेशमा एमाले नेताबीच मारामार
सुन्नुहोस्

एमाले नेता पुरुषोत्तम पौडेलका कारण रौतहट जिल्ला कमिटी तहसनहस अवस्थामा पुगेको छ ।

पोलिटब्युरो सदस्य तथा रौतहट जिल्ला इञ्चार्ज पौडेलले नगरकमिटीको बैठकसमेत आफैँ बोलाउन थालेपछि आलोचना हुन थालेको छ । जिल्लाइञ्चार्ज आफैंले पालिका बैठक बोलाउँदै हिँड्न थालेपछि जिल्लाका पदाधिकारीहरू भने प्रदेश सरकारले वितरण गर्ने योजना तानातानमै व्यस्त छन्।

भर्खरै निर्वाचित पदाधिकारीहरू प्रदेश सरकारको योजना आफूले पाउनुपर्ने भन्दै मारामार गरिरहेको बेला पूर्व खेलकुद मन्त्रीसमेत रहेका पौडेल भने आफ्ना मान्छेलाई नगर कमिटी अध्यक्ष बनाउने अभियानमा लागेका छन्। कुनै समय झलनाथ खनालनिकट मानिएका पौडेल माधव नेपाल हुँदै पछिल्लो समय पोलिटब्युरो सदस्य छन्। रौतहटकै केन्द्रीय सदस्य उद्धव रेग्मी एक गुट र मधेश प्रदेश कमिटी उपसचिव आरती भण्डारीले अर्को गुट सञ्चालन गर्दै आएका छन्।

रौतहटमा यतिबेला विष्णु पौडेल गुट र शंकर पोखरेल गुट भन्दै दुई गुट स्पष्ट रुपमा देखापरेको छ । गएको संघ तथा प्रदेश चुनावमा एकमात्र प्रदेश सदस्य जित्न सफल भएको नेकपा एमालेमा पौडेलले शनिबार गुजरा नगर अधिवेशनमा जिल्ला सचिव बाबुराम दाहाललाई बोल्न नदिएको भन्दै कार्यकर्ताहरूले चर्को आलोचना गरेका छन्। १८पालिकामध्ये चन्द्रपुरको नगर अधिवेशन सम्पन्न भइसकेको र गुजराको भइरहेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू