गृहमन्त्रीलाई संसद्को अवहेलनामा कारबाही गर्न काँग्रेस उपसभापतिको माग
नेपाली काँग्रेसले संसद बैठकमा असत्य बोलेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गरेको छ । काँग्रेस उपसभापति तथा सभासद् धनराज गुरुङले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेर बुझाएको पत्रमा हिजो साँझको बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्रीले तथ्यहीन, आधारहीन कुरा गरेको उल्लेख छ ।
उनले आधारहीन कुरा गरेर काँग्रेस सदस्यहरुको मानमर्दन गर्न खोजेको र सर्वसाधारणलाई भ्रममा पार्ने षड्यन्त्र रचेको काँग्रेस सभासद् गुरुङको उजुरमा लेखिएको छ । लेखिएको छ, ‘अदालतले गरेको फैसलामाथी धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, रातो पासपोर्टको विषयलाई तोडमोड गरिएको र आफूलाई अदालतभन्दा माथि राखि अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु ।’
देशको गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको उनको ठहर छ । लामिछानेलाई आफूले बोलेको कुराहरु पुष्टि गर्न चुनौती दिँदै लेखिएको छ, ‘उहाँले बोलेका कुराहरुको अडियो तथा भिडियो प्रतिनिधि सभा सचिवालयमा सुरक्षित रहेको पनि होला ।’
गुरुङले गृहमन्त्री लामिछानेले प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निजले नगरेको ठहर गरेका छन् । सोही कारण उनीमाथि संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर माग गरिएको हो ।
उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि सभामुख घिमिरेलाई बुझाएको बताइएको छ ।
टिप्पणीहरू