बिमस्टेकका महासचिव बिहानैदेखि सिंहदरबारमा व्यस्त

बिमस्टेकका महासचिव बिहानैदेखि सिंहदरबारमा व्यस्त
सुन्नुहोस्

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेटक) का महासचिव इन्द्रमणि पाण्डे भेटघाटका लागि आज बिहान सिंहदरबार पुगे । नेपालको चार दिने भ्रमणमा श्रीमती सुषमा पाण्डेसहित हिजो बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएका उनी सरकारी अधिकारीहरुसँगको भेटका लागि बिहान १० बजे सिंहदरबार गएका हुन् ।

पाण्डेले सबैभन्दा पहिले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालसँग भेटवार्ता गरेको बताइन्छ । बिमस्टेक महासचिव र सचिव लम्सालबीच बिहान सवा १० बजेदेखि झण्डै एक घण्टा परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

त्यसपछि उनी गृहसचिव एक नारायण अर्यालसँग भेटवार्ताको निम्ति गृह मन्त्रालय पुगेका थिए । पाण्डे र अर्यालबीच गृह मन्त्रालयमा करिब २० मीनेट कुराकानी भएको हो ।

गृहबाट निस्केपछि महासचिव पाण्डे ऊर्जा मन्त्रालय पुगे । पौने १२ बजेदेखि झण्डै आधा घण्टा ऊर्जा मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीसँग कुराकानी गरेपछि उनी सिंहदरबारबाट बाहिरिएका हुन् ।

पाण्डे दम्पती विमान बंगलादेशको उडान नम्बर बीजी ३७१ मा ढाकाबाट हिजो बिहान साढे ११ बजे काठमाडौं आएका हुन् । सचिवालयका निर्देशक किरण शाक्य पनि महासचिवको टोलीमा छन् । 

महासचिवको टोलीको होटल सोल्टीमा बसेको छ । नेपाल भ्रमणपछि उनी पर्सि साँझ ५ बजे भिस्तारा एअरको उडान नम्बर युके १५६ मा नयाँ दिल्ली जाने कार्यक्रम छ ।

 

टिप्पणीहरू