रविको नाम तोकेर संसदीय समिति गठन नगर्ने सत्ता पक्षको अडान यथावत

रविको नाम तोकेर संसदीय समिति गठन नगर्ने सत्ता पक्षको अडान यथावत

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारी प्रकरणमा अनुसन्धान हुनुपूर्व कसैलाई दोषी करार गर्न नहुनेमा जोड दिनुभएको छ । 

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सदन अवरुद्ध गरिरहेका बेला मन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । सहकारी प्रकरणमा अनुसन्धान हुनुअघि नै गृहमन्त्रीलाई दोषी ठहर्याउने कुरा स्वीकार्य नहुने उहाँको भनाई छ । 

आज विहान मन्त्रालयमा संसदीय छानविन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक बसेको थियो । बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यहरुले आफ्नो धारणा राखेका थिए । बैठक सकेर निस्कँदै गर्दा मन्त्री गिरीले गृहमन्त्री जोडिएको सहकारीको नाम लेख्न कुनै आपत्ती नभएको तर गृहमन्त्रीकै नाम लेख्दा नराम्रो नजिर बस्ने बताउनुभयो । 

'कोही व्यक्ति दोषी हो होइन भन्ने छानबिनपछि थाहा लाग्छ । पहिले नै कोही दोषी हो भनेर जाँदा यथार्थ बाहिर आउँदैन', उहाँले भन्नुभयो, 'गृहमन्त्रीको नाम जोडिएका सहकारीको नाम लेख्नुपर्नेमा कुनै आपत्ति छैन । रवि लामिछानेले नै अपचलन गर्नुभयो उहाँमाथि छानबिन गर्नुपर्‍यो भन्ने भाष्य बनाइँदैछ, त्यो ठीक होइन ।' 

गृहमन्त्रीको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विवादका कारण कार्यदलले सहमति जुटाउन सकिरहेको छैन । तर, आज अस्तिभन्दा केही बृहत छलफल भएको र सहमतिको सम्भवना बढेको मन्त्री गिरीले बताउनुभयो । 

'कहाँ कसले अपचलन गरेको छ तिनीहरूलाई कारबाही गर्ने बचतकर्ताको रकम फिर्ताको सुनिश्चित गर्ने गरी छानबिन गरी कारबाही कुन ढंगले लान सकिन्छ भन्ने कुरामा सबै एकमत छौं, अस्तिको भन्दा अलि आशावादीरूपमा छलफल भएको छ', उहाँले भन्नुभयो ।

 

टिप्पणीहरू