प्रतिनिधि सभाको बैठक आज पनि स्थगित
प्रतिनिधि सभाको बैठक आज पनि स्थगित गरिएको छ । आजको बैठकमा पनि नेपाली काँग्रेसले अवरोध कायम राखेपछि सभामुख देवराज घिमिरेले शुक्रबार बिहान ११ बजेसम्म स्थगित भएको जानकारी दिइएको छ ।
काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म बैठकमा अवरोध कायम राख्ने जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव टेबल गर्नुभएको थियो ।
नेपाली काँग्रेसले नाराबाजी गरिरहे पनि सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव पढेर सुनाउनु भएको हो । नाराबाजीकै बीच राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित भएको छ ।
बैठकको प्रारम्भमा काँग्रेस सांसद बद्री पाण्डेलाई बोल्न समय दिइएको थियो । तर काँग्रेसको विरोध जारी रहेपछि सभामुख घिमिरेले संसद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउनुभयो ।
होहल्लाबीच बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी अध्यादेशसमेत प्रतिनिधिसभा बैठकमा पेस गर्नुभएको छ ।
टिप्पणीहरू