रास्वपाका सांसदलाई आरजूको प्रश्न : त्यत्तिकै मेरो छोरोलाई किन मुछेको ?
नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा.आरजू राणा देउवाले गृहमन्त्री रवि लामिछानेलाई आफूविरुद्धका फाइलहरु खोलेर देखाउन चुनौती दिएकी छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिररिँदै गर्दा उनले सञ्चारकर्मीहरुकसँगको कुराकानीमा उक्त धारणा राखेकी हुन् ।
नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको अडानसहित संसद अवरोध गर्दैआएपछि अस्ति साँझ गृहमन्त्री लामिछानेले सदनको रोष्ट्रमबाटै काँग्रेस र उसका सांसदप्रति आक्रोश पोखेका थिए । त्यतिबेला नेपाली कांग्रेसका नेताहरुमाथि लगाइएका विभिन्न आरोपमध्ये टिकापुर जग्गा काण्ड पनि एक भएको बताइएको थियो ।
सोही विषयमा आज आरजूले गृहमन्त्री लामिछानेलाई फाइल खोल्न चुनौती दिएकी हुन् । उनले टिकापुरको जग्गा आफूले ५० हजारमा किनेको बताएकी छन् । ‘जे–जे छ, सबै फाइल खोलेर देखाउनु, मैले टिकापुरमा ५० हजारमा किनेको हो, उनले भनिन्, ‘तपाईंहरू सबैले हेर्न सक्नुहुन्छ, सबै कागजात हेर्न सक्नुहुन्छ ।’
प्रतिनिधिसभाको बैठकअघि आज आरजू र रास्वपाका सांसद मनिष झाबीच जम्काभेटमा चर्काचर्की भएको हो । झाले केही समय पहिले काँग्रेस सभापति शेरबहादुर देउवासहित पत्नी आरजू र छोरा जयवीरमाथि पनि छानबिन हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।
सोही विषयमा आरजूले झालाई ‘राजनीतिमा आवद्ध नै नभएको छोरोलाई किन मुछेको ?’ भन्दै प्रश्न गरेकी हुन् । जवाफमा झाले जयवीरले एक अर्ब बराबरको जग्गा किनेको समाचार आएको र यदि गलत भए आफूमाथि कानुनी कदम चाल्न चुनौती दिएका थिए । तर आरजूले रिसाउँदै ‘बेकारको कुरा नगर्नुहोला’ भनेकी हुन् ।
टिप्पणीहरू