चन्द्रागिरी जानुअघि बंगलादेशका वातावरणमन्त्री सिंहदरबारमा

चन्द्रागिरी जानुअघि बंगलादेशका वातावरणमन्त्री सिंहदरबारमा
सुन्नुहोस्

बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मन्त्री चौधरी प्रधानमन्त्री दाहालसँग भेटवार्ताको निम्ति दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय पुगेका थिए । उहाँहरुबीच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ । 

बंगलादेशी मन्त्री भोलिदेखि काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा हुन लागेको अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा भाग लिन आएका हुन् । उनी विमान बंगलादेशको उडान नम्बर बीजी ३७१ मा बिहान साढे ११ बजे काठमाडौं आइपुगेका हुन् । 

सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने छ । अन्य केही सहभागी काठमाडौं आइपुगिसकेका छन् । सम्मेलनमा भाग लिन भुटानबाट कृषि तथा पशुपन्छीमन्त्री योन्टेन फुन्सोको नेतृत्वमा पाँच सदस्यीय टोली आज बिहान काठमाडौं आइपुगेको छ । टोली ड्युक एअरको उडान नम्बर केबी ४०० मा बिहान ७ बजे आइपुगेको हो ।

त्यस्तै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) का अध्यक्ष ह्यारी ब्रेउल्स पनि काठमाडौं आइपुगेको बताइएको छ ।

टिप्पणीहरू