कर्णालीका कमरेडको के हो किचलो

कर्णालीका कमरेडको के हो किचलो

केन्द्रमात्रै हैन, प्रदेशतिर पनि उही रोग छ, मन्त्री चाहिरहने, त्यो पनि रोजेरोजेको !

कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री हुनासाथ दैलेखी नेता विनोद शाहलाई कृषि मन्त्री दिलाए । तर, ‘भौतिक नै चाहियो’ भन्दै उनी शपथमा नजाँदा हटाइए । उनी राजाको शासनकालमा जलस्रोत सहायक मन्त्री थिए । नेमकिपाबाट एमाले हुँदै राजावादी भएर फेरि एमालेमा फर्किएका हुन् । अघिल्लो पटक माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री हुँदा दुई–तीन महिना अर्थमन्त्री भए । समीकरण टुट्नुअघि नै मुख्यमन्त्रीले हटाउन खोजेका । किनभने, ‘अर्थ विविध’ शीर्षकमा भएको २३ करोड रकम योजनामा हालेर पठाएपछि मनमुटाव भयो । मुख्यमन्त्रीले कार्यक्रम रोक्नु भन्दा मानेनन् । त्यसपछि एमाले–माओवादी समीकरण भत्कियो । लगत्तै सरकार ढलेन । तर, उनकै कारण कर्णालीबाटै एमालेका मन्त्रीहरु फ्याँकिने भएपछि राजीनामा दिए । 

अहिले एमाले अध्यक्ष केपी ओलीकै ठाडो निर्देशन प्रत्यक्षमा जितेका र कुनै जिम्मेवारीमा नरहेकालाई मन्त्री बनाउने भन्ने कुरा आयो । तर, विनोदले भौतिक नपाए शपथ गर्दिनँ भने । बाँडेको मन्त्रालयमा शपथ नलिएपछि खालि भएर मुख्यमन्त्रीको कार्यालयमा जाने नै भयो । उनलाई नजिकका ठेकेदार र स्वार्थ भएका मानिसले उकासेर भौतिकको दावी नछोड्न भनेका छन् । तर, अन्तिममा त्यही कृषि स्वीकारर्ने मनस्थितिमा छन् । 

उता, ओलीको इच्छाविपरित पार्टीको प्रदेश अध्यक्ष जितेका सल्यानी नेता गुलाबजंग शाहकै कारण प्रदेश अध्यक्षहरु स्वतः पोलिट्व्युरो सदस्य हुने व्यवस्था खारेज भएको छ । त्यसका बाबजुद पनि ओली र गुलावबीच संवाद जारी छ । त्यस्तै, मुख्यमन्त्री यामलालले कुन मापदण्डका आधारमा मन्त्री बनाउने भन्ने कुरा ओलीसँगै सोधेका हुन् । अब विनोद शाह मन्त्री हुन गएनन् भने मुख्यमन्त्रीसहित प्रत्यक्ष जितेको पाँच जनाभित्रबाट मन्त्री हुन्छन् । त्यस्तो हुँदा टेकराज पछाई वा जितबहादुर मल्लको सम्भावना छ । यसअघि पनि प्रदेशका मन्त्रीमा विनोद, टेकराज र जितबहादुर गएका थिए । 
 

टिप्पणीहरू