प्रधानमन्त्री र देउवाबीच बूढानिलकण्ठमा 'वान टु वान' वार्ता, रविको नाममा कुरो अड्कियो

प्रधानमन्त्री र देउवाबीच बूढानिलकण्ठमा 'वान टु वान' वार्ता, रविको नाममा कुरो अड्कियो
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज बिहान भएको छलफलमा काँग्रेसले उक्त अडान नछोडेको स्पस्ट पारेको हो । कांग्रेस सहमहामन्त्री जीवन परियारले सहकारीको रकम अपचलन सम्बन्धी विषयमा गृहमन्त्री लामिछानेको नाम नै किटान गरेर जानुपर्ने आफूहरुको अडान प्रधानमन्त्री समक्ष राखेको जानकारी दिए । 

देउवासँगको छलफलमा प्रधानमन्त्रीले सहकारी समस्या समाधान गर्न गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपछि व्यक्तिको नाम राखिरहन आवश्यक नभएकाले सहमतिमा आउन आग्रह गरेका थिए । तर, कांग्रेसले त्यसलाई अस्वीकार गरेको उनले बताए । 

‘गोरखा मिडिया नेटवर्कको नाम मात्र लिएर पुग्दैन । कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू को को हुन् भन्ने पनि उल्लेख नगरी छानबिन अगाडी बढ्न सक्दैन भन्ने हाम्रो अहिलेसम्मको अडान यथावत् छ’, परियारको भनाइ छ । 

सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन प्रधानमन्त्री सकारात्मक देखिएको बताउँदै उनले आज साँझ वा भोलि बिहान शीर्ष नेताहरु बसेर निस्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।

देउवा भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान बूढानीलकण्ठ पुगेका थिए । प्रधानमन्त्री र देउवाबीच 'वान टु वान' वार्ता समेत भएको थियो । तर, त्यसबारे देउवाले पार्टीका अन्य नेताहरुलाई केही नबताएको परियारले जानकारी दिए ।

टिप्पणीहरू