अब शुरु हुन्छ चुनावी चटारो

अब शुरु हुन्छ चुनावी चटारो

– मोतीराम तिमल्सिना

दरबार हत्याकाण्डकै दिन २०८१ जेठ १९ गते काभ्रेका व्यवसायीहरू निर्वाचनको प्रतिस्पर्धा गर्दै छन् । व्यवसायीहरूको निर्वाचन सकिएलगत्तै पत्रकारहरू भिड्दै छन् । जेठ २६ गते हुने उक्त निर्वाचनका लागि सदस्यताको लफडा बाँकी नै छ । पत्रकारहरूको निर्वाचन सकिएलगत्तै एमाले काभ्रेले जेठ अन्तिम २८ गतेलाई मिति तोकेको छ । 

राजमार्ग विस्तारका कारण बनेपाका धेरै व्यवसायीको उठिबास हुन थालेको छ । राजमार्ग बन्दाबन्दै र बनिसकेपछि पनि पहिलाको दाँजोमा नै व्यापार हुने अपेक्षा छैन । तैपनि, व्यवसायीलाई निर्वाचनको चटारो ह्वात्तै बढेको छ । काभ्रे उद्योग वाणिज्य संघको जेठ १९ गते हुने अधिवेशनका लागि आकांक्षीहरू बढिरहेका छन्​​​​​ । आर्थिक मन्दी, व्यवसायीहरूको पलायन तथा विविध कारण पछिल्लो समय उद्योग वाणिज्य संघको सदस्यता लिने, नवीकरण गर्ने क्रम घटिरहेको भए पनि निर्वाचनका समयमा उद्योगी व्यवसायीबीचको चहलपहल चर्को छ ।

उद्योग वाणिज्य संघको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव, सह सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, मुख्य संयोजक, सह मुख्य संयोजक पदाधिकारी हुने व्यवस्था छ । त्यस्तै १० जना सदस्य निर्वाचित, २ जना महिला निर्वाचित, क्षेत्रगत सदस्य ८ जना र मनोनीत ३ जना गरी ३४ सदस्यको कार्यसमिति हुनेछ । पदाधिकारीमा बाहेक अन्य पदमा सर्वसम्मत हुने सम्भावना छ । अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत बनाउने प्रयत्न भएको बताए पनि अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष रहेका प्रताप वैद्य, यसअघि अध्यक्षका प्रत्यासी वसन्तनारायण भोछभोया र राजन मानन्धरले लबिङ तीव्र बनाएका छन् ।

उता, नेकपा एमाले काभ्रेको केन्द्रले तोकेको समयावधिको अन्तिम महिना र दिन पारेर ११ औँ जिल्ला अधिवेशन २०८१ जेठ २८–३० सम्म धुलिखेलमा हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । वर्तमान उपाध्यक्ष एवं पूर्व प्रदेशसभा मन्त्री चन्द्र लामा र सचिव राजन भुर्तेलबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै छ । भुर्तेललाई पूर्वमन्त्री एवं पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाको साथ देखिन्छ भने लामाको पक्षमा नेताहरू खुलेका छैनन् ।अधिवेशनमा भूगोल, जनसंगठन र विधानबमोजिमका निकायबाट करिव सात सय प्रतिनिधि सहभागी हुनेछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 


 

टिप्पणीहरू