समाजवादका लागि वाम एकता : प्रधानमन्त्री प्रचण्ड

समाजवादका लागि वाम एकता : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पार्न अर्को आन्दोलनको आवश्यकतामाथि जोड दिनुभएको छ । 

जनसांस्कृतिक महासंघको राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै उहाँले त्यसका निम्ति एकताबद्ध हुनुपर्ने भएकाले समाजवादी मोर्चा र वामपन्थी ध्रुवीकरणको पहल गरिएको बताउनुभयो । क्रान्तिको बाटो सरल रेखामा नजाने उल्लेख गर्दै प्रचण्डले आफूले गरिरहेको पहललाई रणनीतिकरुपमा बुझ्न आग्रह गर्नुभयो । 

‘हामीले अहिले समाजवादी मोर्चा बनाउने कुरा वा वामपन्थी ध्रुवीकरणको निम्ति पहल गर्नेकुरा समाजवादको आधार तयार पार्नेकुरासँग नै सम्बन्धित छ’, माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, ‘हामी कोही द्विविधामा बस्न हुँदैन । क्रान्तिको बाटो सरल रेखामा जाँदैन । रणनैतिक रुपमा कतातिर सोच्दैछौँ भन्नेबारेमा ध्यान दिनुपर्छ ।’

सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेटमार्फत् समाजवादको बीउ रोप्ने प्रयास गरिएको दाबी पनि गर्नुभयो । कृषिलाई आधार बनाई सूचना प्रविधिलाई अगाडि बढाएर मात्रै समाजवादी यात्रामा अघि बढ्न सकिने उहाँको भनाई छ । 

‘अब समाजवादको एउटा नयाँ यात्रातिर हामी छौँ । त्यहाँ भनिएजस्तै समाजवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि एउटा ठूलो शक्ति सञ्चयको अपेक्षा गर्दछ । आफ्नो देशभित्र मात्रै होइन, विश्वभरका श्रमीकहरुसँग, सबै न्यायप्रेमी जनसमुदायसँग एउटा ठूलो एकताको अपेक्षा राख्दछ’, प्रचण्ड भन्नुहुन्छ, ‘हामीले समाजवादी क्रान्तिको कुरा गर्दा भनेका के छौँ भने अहिले आधार निर्माण गर्ने कुरालाई मुख्य भनेका छौँ । हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु नै हो । हामी कोही कन्फ्युजनमा बस्नु हुँदैन ।’ 

प्रधानमन्त्रीले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा पनि विशेष जोड दिनुभएको छ । समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक पर्ने उहाँले बताउनुभयो ।

टिप्पणीहरू