खडेरी देशमा कलकारखाना खोल्नेहरुकै
हामीले देश बनाउने कसले हो भनेर जिकिर गर्याैँ । यसको जवाफ के हो भन्ने थाहा नभएर यस्तो जिकिर गरेको होइन । हामीलाई सबै कुरा थाहा छ, जरादेखि टुप्पोसम्मै थाहा छ । देश बनाउने अन्तिममा मान्छेले नै हो । प्रश्न त्यस्ता मान्छे छन् त भन्ने मात्रै हो । राजनीतिक दलको कुरा गर्ने हो भने एमाले, कांग्र्रेस र माओवादी केन्द्र तथा नेतृत्वको कुरा गर्ने हो भने ओली, देउवा र प्रचण्डहरूकै नेतृत्वमा, उनीहरूकै हातमा रहेको पाइन्छ । यो सिलसिला ०४६ सालदेखि आजका दिनसम्म चलिरहेको छ । यो समयमा के–के भए त भनेर हेर्दा जेसुकै कारणले भए पनि देशका सबैजसो राष्ट्रिय उद्योग या बन्द भए या त बेचिए । तर, यो समय एउटा पनि नयाँ उद्योग कलकारखाना खोलिएन । यस्तो भएपछि देशले उन्नति कसरी गर्छ ? ०४६ सालदेखि अहिलेसम्म खिलराज, तुलसी गिरी र कीर्तिनिधि बिष्टहरुलार्ई गिन्ती नगर्ने हो भने नौ जना मान्छे यो देशको प्रधानमन्त्री बनेछन् । यीमध्येका केही त पटकपटक प्रधानमन्त्री बने । तर यिनीहरूको समयमा एउटै उद्योग, कलकारखाना नयाँ खुलेन, एउटा विश्वविद्यालय खुलेन, एउटा अनुसन्धान केन्द्र खुलेन । यो भनेको के होला ? देश बन्ने दिशामा छ त ? देश बनाउनेहरू छन् त ? खडेरी त देश बनाउने मान्छेहरूकै देखियो ।
हामीसँग अपार जलशक्ति छ । हाम्रो विकास भविष्य अथवा भनाैँ देश बन्ने कुरा यही जलशक्तिमा निर्भर छ । देशमा नयाँ त केही पनि बनेन वा बनाउन सकिएन, मानियो । हामीले बनाएका अनेकौं उद्योग, कलकारखाना थिए अथवा अझै पनि छन् । गोरखकाली रबर उद्योग छ, हेटौंडा कपडा उद्योग छ, विराटनगर जुट मिल छ, हेटौंडा छाला उद्योग कारखाना छ, हेटौंडा र उदयपुर सिमेन्ट उद्योग छन्, भक्तपुर इँटा उद्योग थियो, ट्रली बस थियोे । चुनढुंगाको खानी छ, गिट्टी र बालुवाको भण्डार नै छ, जनकपुर चुरोट कारखाना छ, बियर फ्याक्ट्री छ, रक्सी उद्योग छ, चामल कुट्ने उद्योग छ, मैदा बनाउने मिल छन्, भृकुटी कागज कारखाना छ, चिनी उद्योग छ, बन छ, बिशाल समथर फाँट छ, हिमाल छ, ताल छ, यार्सागुम्बा छ, गैंडा छ, जरायो, मयुर, बाघ, हात्ती छ, जडिबुटी छ । र अत्यन्तै महत्त्वपूर्ण शक्ति र सम्पत्ति हामीसँग ठूलो संख्यामा वयस्क केटाकेटी छन् । हामीसंग नभएको केही छैन । र, हाम्रो विकास हुने वा नहुने भन्ने कुरा यिनै कुराहरूको उपयोग, परिचालन र सञ्चालनमा निर्भर छ । उपलब्ध स्रोत र साधनको जति धेरै सदुपयोग गर्न सक्छौं उति नै विकासको ढोका खुल्छ ।
हाम्रा मान्छेकाे भिजन कति लामाे छ भनेर हेर्न आँखीझ्याल काठमाण्डाैँकाे रिङराेड हाे । आज बनायाे भाेलि भत्कायाे ।
धेरैभन्दा धेरै विद्युत् उत्पादन गरेर सबै कलकारखानालाई निरन्तर पावर सप्लाई दिने, सबै घरमा बिजुली पुर्याउने, सबै नेपालीले खाना बिजुलीमा पकाउने, बस र ट्रामहरू बिजुलीबाट चल्ने ल्याउने । निजी कार पनि बिजुलीबाटै चार्ज गरेर चल्ने बनाउने । पूर्व–पश्चिम रेल पनि बिजुलीबाटै चलाउने । चाइनाले सित्तैमा बनाइदिएका चुच्चे रेल बिजुलीबाटै चलाउने । देशैभरि नहरको सञ्जाल बनाएर पानी सबै ठाउँमा पुर्याउने, सकेसम्म धेरै बाली लगाउने, एक कठ्ठा जग्गा पनि बाँझो नराख्ने । धेरैभन्दा धेरै कपडा स्वदेशमै उत्पादन गर्ने र सोही कपडा सबै नेपालीले प्रयोग गर्ने । यसको निम्ति कपास खेती शुरु गर्ने, टायर यहीँ बनाउने । कागज यहीँ उत्पादन गर्ने । रक्सी स्वदेशी नै खाने, चुरोट पनि नेपाली नै पिउने । चिनी सबैलाई पुग्ने गरी यहीँ उत्पादन गर्ने । धेरैभन्दा धेरै यार्सागुम्बा संकलन गरी निर्यात गर्ने, जडीबुटी निर्यात गर्ने । सस्तोमा र सजिलोसँग हिमाल चढ्न जान पाउने बनाउने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने । धान, गहुँ, तोरी, उखु, कपास, सुर्ती, तरकारी, खसी, यहीँ उत्पादन गर्ने । यस्तो गर्न केले रोकेको छ ? कसले छेकेको छ ? ल यति मात्र गरेर हेरौं त देश बन्दोरै’छ कि बन्दैन रै’छ ?
जनतासँग पैसा नभएको होइन, अलिअलि पैसा छ । जनतासँग भएको पैसाबाट पनि धेरै ठुल्ठूला काम गर्न सकिन्छ । नहर बनाउन पैसा उठाउने, जलविद्युत् आयोजना बनाउन पैसा उठाउने, कपडा उद्योग चलाउन, छाला उद्योग चलाउन, टायर उद्योग चलाउन, रेल किन्न, जहाज किन्न जनताबाट पैसा उठाउने शेयरको रूपमा । सेनाको युनिफर्मका निम्ति देशमा बनेको कपडा प्रयोग गर्ने, प्रहरीको लुगा पनि यहीँ बनेको कपडाबाट बनाउने, देशका सबै स्कूल, क्याम्पस र सरकारी कर्मचारीको ड्रेस स्वदेशी कपडाको बनाउने, जुत्ता, बुट, चप्पल पनि नेपालमै बनेको प्रयोग गर्ने भएपछि कुरा सक्किएन त ?
देशको माटोअनुसारको शिक्षा दिने । देशलाई कति डाक्टर चाहिन्छ ? नर्स, अनमी कति चाहिन्छ ?, इञ्जिनियर र ओभरसियर कति चाहिन्छ ? शिक्षक, प्रोफेसर कति चाहिन्छ ? लेखापरीक्षक कति चाहिन्छ ? सेना, प्रहरी कति आवश्यक पर्छ ? खै त योजना डाक्टर बनाउने, इञ्जिनियर बनाउने, नर्स बनाउने, शिक्षक बनाउने, प्रोफेसर बनाउने, पाइलट बनाउने ? हामीले आफूलाई चाहिने सबै ट्रेडका मान्छे स्वदेशमै उत्पादन गर्यौँं र काममा लगायौँ भने देश नबनेर हुन्छ ? सबै स्वदेशमै पढेर बनेका भएपछि के चाहियो ? यही होइन त देश विकास भनेको ? यही होइन त देश बन्ने भनेको ? यस्तो गरेपछि रोजगारी फालाफाल हुन्छ । नागरिक किन अरबको खाडीमा जान्छ यहीँ नोकरी पाएपछि ! तर, समस्या फेरि पनि के हो भने यस्तो गर्ने कसले ? को छ यस्तो गर्नुपर्छ भनेर सोच्ने र गर्छु भनेर अगाडि आउने ?
हामी त कस्ता भयौं भन्दा इमान नभएकाजस्ता । इमान पनि कस्तो भने पैसामा इमान गुमाउने । कुनै पनि काम हुने नहुने भन्ने कुरा नाप्ने तुलो पैसा बन्न गएको छ । तर, त्यो पैसा फेरि सरकारी दस्तुर होइन है ! त्यो पैसा कामको अनुमति पाउनको निम्ति सरहरूलाई खुशी पार्नलाई हो । साथीहरूले गुनासो गर्छन्, क्यासिनो सञ्चालन गरौं भनेर सोचेको, लाइसेन्स लिनै मुश्किल छ । मोटो रकम टेबुलमुनिबाट नदिएसम्म लाइसेन्स पाउनै सकिन्न । केही समयपहिले ठेकेदारले १० प्रतिशत रकम इञ्जिनियरको खातामा हालेको कुरा सार्वजनिक भएको थियो । अरु त अरु अरब जानेहरूसँगबाट पनि खाइदिन्छन् । यो आजको यथार्थ हो ।
बाटो बनाउने ठेक्का लिन कमिशन चाहिन्छ । पुल बनाउन कमिशन, भवन बनाउन कमिशन, नयाँ उद्योग, कलकारखाना खोल्न कमिशन, नोकरी खान, सरुवा हुन नजराना दिनुपर्ने बाध्यता छ । यसरी इमान नभएको बन्न पुगेको छ देश । आजको दिन देशमा गरमागरम बहस चलिरहेको मुद्दा भनेको सहकारी ठगी हो । यो मुद्दा वास्तवमा राष्ट्रिय लज्जाको विषय बनिरहेको छ । ठगीसम्बन्धी कानुन छ, त्यसलाई हेर्ने सरकारी निकाय छन् । आफ्ना जनता यसरी ठगिन पुग्दा त्यसलाई हेरेर पीडितलाई राहत दिलाउने, न्याय दिलाउने काम सरकारको हो नि ! तर ऊ यस्तो गर्न तयार छैन । पीडितको पक्षमा सरकार उभिएको छैन । सरकार आरोपितलाई बचाउन खडा भएको देखिन्छ । यो लज्जास्पद कुरा हो ।
राज्य असफल भएको बेलामा मात्रै यस्तो हुन सम्भव हुन्छ । कानुन नपढेको मान्छेले पनि बताइदिन सक्छ कुनै पनि ठगी मुद्दाको उजुरी, सुनुवाइ र तहकिकात कसरी हुन्छ भनेर । तर सिङ्गो राज्य अनकौं बहाना निकालेर, ठगीको आरोप लागेकाहरूलाई बचाउन उठेको छ काँधमा लठ्ठी बोकेर । को कस्तो छ र कोबाट के आशा गर्न सकिन्छ अब प्रष्ट भइसकेको छ । हाम्रा मान्छेको भिजन कति लामो छ भनेर हेर्ने आँखीझ्याल काठमाडौंको रिङरोड हो, आज बनायो, भोलि भत्कायो । घाँसीले कुवा खनायो वा खनाएन त्यसमा छलफल गर्न सकिएला । तर, यदि नखनेकै हो भने पनि घाँस र कुवा खनेको प्रसंग जसले निकाले, तिनको जत्तिको पनि इतिहासमोह आजका राजनीतिक मान्छेमा नदेखिँदा आशावादी हुन पनि धेरै कठिन भएको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू