गृहमन्त्रीको गोप्य कोठामा को होलान् ती ‘सल्लाहकार’ ?

गृहमन्त्रीको गोप्य कोठामा को होलान् ती ‘सल्लाहकार’ ?

गृहमन्त्रीको कार्यकक्षबाट अवैतनिक सल्लाहकार दौडिए पर्दा तानेर । को होला त्यस्तो बर्दीवाल सल्लाहकार भन्दै गुप्तचरहरुलाई खोज्न, बुझ्नको सास्ती !

गृहमन्त्री रवि लामिछानेको पुल्चोकस्थित सरकारी निवास र सिंहदरबारस्थित कार्यकक्षबाट दुईपटक पर्दा तान्दै निस्कने सल्लाहकार को होलान् भनेर अहिले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा चर्चा हुन थालेको छ । पछिल्लो समय सहकारी काण्डलाई विषयान्तर गर्न कान्तिपुरका मालिक कैलाश सिरोहियालाई पक्राउ गरेपछि ‘सफलता नै मिलेको’ सल्लाहका कारण रवि उत्साहित छन् । उता कतै उनकै कारण प्रहरीको चेन अफ कमाण्ड पो बिग्रने हो कि भनेर सुरक्षा निकायका जिम्मेवार व्यक्तिलाई भयंकर चिन्ता छ । 

सहकारी ठगीका श्रृंखलावद्ध समाचारलाई लिएर प्रतिशोध साँध्ने क्रममा कान्तिपुरमाथि प्रहार भयो भन्ने सबैतिर परेकै छ । तर, सिरोहियालाई समातिहाल्ने विषयमा चाहिँ प्रहरी प्रमुख वसन्त कुँवर पनि सहमत थिएनन् । उनी यसबारे छलफलमै थिए, उता नत्र गठबन्धन छाडिदिने रविको धम्कीपछि प्रधानमन्त्रीको फोन आदेशमा सिरोहिया समातिए । कैलाशलाई रातारात धनुषा पुर्‍याउने काम पत्ते भएपछि आइजीले आफू ‘पेलान’ मा परेको महसुस गरिरहेका छन् । अनेकतिर द्वन्द्व बढाएर अरु सबै ठूला पार्टीका नेताको अपराध लुकाउने र कांग्रेसको मुद्दामा कुनै सुनुवाइ नै नगरी संसद विघटनसम्मको योजनालाई प्रकारान्तरले साथ दिन गृहमन्त्रीले प्रहरी प्रमुखलाई पनि बाइपास गरेर धेरै तलको वरियताका प्रहरी अधिकृतसँग सल्लाह साउती गर्न थालेको खबर जनआस्थाले पाएको छ । 

सिरोहियालाई पक्रन रातो प्लेटको नयाँ गाडी खोज्नेदेखि समात्नेसम्म काममा आफूलाई सामान्य ब्रिफिङसमेत नहुने तर गृहमन्त्री भेट्न पुग्दा जुनियर अफिसरसँग गफगाफ भइरहेको देखेपछि आइजी कुँवर एकहिसाबले दुःखी अवस्थामा पुगेका हुन् । ओलीसँग मिल्नै पर्ने रविको बाध्यता र ओलीले रविलाई बोक्नै पर्ने कमजोरीको फाइदा उठाउँदै आफ्नै संगठनका प्रमुखलाई पनि बाइपास गरेर गृहमन्त्रीकहाँ ओहोरदोहोर गर्ने अधिकृतहरुको व्यवहारबारे प्रहरी प्रमुखले केही सास्ती भोगेका छन् तर कतै भनिहालेका चाहिँ छैनन् । खासमा अहिले समय ठीक नभएकाले प्रहरी प्रमुख सिरोहियामाथि मुद्दा चलाउने पक्षमा नरहेका बेला जुनियर प्रहरी अधिकृतको उक्साहट र सल्लाहमा गृहमन्त्रीले समात्न लगाएको जगजाहेर छ ।

यति मात्रै होइन, उपत्यका केरकारको टोली लगाएर कैलाशलाई धनुषा पुर्‍याएपछि पनि सिआइबीबाटै धनुषा प्रहरी प्रमुखलाई ‘बयान लम्ब्याएर जसरी हुन्छ थुन्नु है’ भनिएको पनि आइजीले पछि मात्र थाहा पाएका रहेछन् । रमाइलो त के भने गृहमन्त्रीकहाँ जाँदा ढोकेले ‘आइजी साब आउनुभयो’ भन्ने खबर लानासाथ भित्र बसिरहेका जुनियर हाकिमको भागाभाग भएकोसमेत स्वयं आइजीले कतै भन्न सकेका छैनन् । भित्र बसिरहेका तिनै अधिकृतलाई ‘आइजी साब आउनुभयो’ भनेको सुन्नासाथ भित्रका पुलिसले नै पछाडिको ढोका खोलेर भगाएको र पर्दा तान्दै भागाभाग भएको दृश्यपछि आइजी कुँवर थप विरक्त बनेका हुन् ।

‘रविले जे गरिरहेका छन्, यो ठीक भएन’ भन्ने काठमाडौँ–७ का रास्वपा सांसद गणेश पराजुलीलाई पनि यो घटनाबारे जानकारी छ । उनी आफ्नै नेताहरुको गलत कामको बरोबर खबरदारी गर्नेमा पर्छन् । उनलाई पनि मन्त्रीले प्रहरी प्रमुखसँग सल्लाह माग्ने हो, तल्लो वरियतासँगको साँठगाँठ ठीक होइन भन्ने परेको छ । प्रहरी प्रमुखको वैराग्यता बढिरहेका बेला एकदिन त गृहमन्त्रीकहाँ पुग्दा भित्र हालै डिआइजीमा बढुवा भएका उनै डा. मनोज केसी भेटिए । आइजीको चक्कराउने प्रश्नचाहिँ के हो भने महिला, बालबालिका मामिला हेर्ने एसएसपीसँग गृहमन्त्रीले घण्टौं एक्लै बसेर लिने सल्लाह र गर्ने छलफलचाहिँ के होला ?

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू