कहीं न कहीं, केही न केही पक्का गड्बड छ

कहीं न कहीं, केही न केही पक्का गड्बड छ

१७ पटक सगरमाथाको सफल आरोहण गरेका टेण्डी शेर्पाले हालै एउटा सार्वजनिक फोरमबाट सगरमाथाको चौथो क्याम्प टेक्नासाथ मोबाइल र घडीले चीनको समय देखाउने गरेको अभिव्यक्ति दिए । प्रधानमन्त्री र पर्यटनमन्त्रीकै अगाडि यो विषय उठान गरेको भए पनि यसलाई गम्भीर रूपमा नलिइएकोमा दुखेसो पोख्छन्, उनी ।जनआस्थासँग आक्रोश पोख्दै भने, ‘अरूको देशको समयअनुसार मेरो देशको सगरमाथा चढ्नुपर्ने ?’ संखुवासभामा जन्मिएका टेण्डी १३ वर्षकै उमेरदेखि टे«किङ क्षेत्रमा लागेका हुन् । २० वर्षकै उमेरमा सगरमाथा टेके । सन् २००३ देखि यता १७ पटक सगरमाथा आरोहण गरिसकेका छन् । हालै एक सातामै दुई पटक सगरमाथा चढेर फर्किएका छन्, उनी । यसअघि २००७ मा पनि हप्तादिनभित्र दुई पटक सगरमाथा शिखर चुमेका थिए । यसरी हप्ताकै दुई पटक सगमाथा टेक्ने कामीरिता शेर्पा, पासाङ छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटेलगायत औंलामा गन्न सकिने पात्रहरू छन् । 

– हरि गजुरेल

० बर्सेनि हजारौंको संख्यामा गाइड र शेर्पाहरू सगरमाथा आरोहण गर्न जान्छन् तर कसैले नदेखेको वा अनुभव नगरेको विषय तपाईंं उठाउँदै हुनुहुन्छ । सगरमाथाको चौथो क्याम्पमा पुग्दा मोबाइल र घडीमा चीनको समय देखाएको विषयले तपाईंलाई मात्र किन छोयो ? 

– यसबारे मैले अघिल्लो वर्ष पनि सुनेको हुँ । साथीहरूले साउथ कोलको चौथो क्याम्पमा पुगेपछि समय अटोमेटिक चेञ्ज हुन्छ भनेका थिए । मैले विश्वास गरेको थिइन । तर, यस पटक आफैं साक्षी भइयो/भोगियो । यस पटकको मेरो प्रथम समिट मे १३ तारिखमा थियो । १२ तारिखको दिन क्याम्प फोरमा पुगेँ । यो भनेको लगभग ७ हजार ९ सय ६२ मीटर उचाइ हो, सगरमाथा शिखरको अन्तिम शिविर । त्यहाँ समय हेरेको हेर्‍यै गर्नुपर्ने हुन्छ । मौसमका आधारमा घडी हेरेर उक्लनुपर्ने हुन्छ । आफ्ना क्लाइन्टस, शेर्पा टिमलाई सोहीअनुसार जानकारी गराउनुपर्ने हुन्छ । कुन समयमा समिटतर्फ उक्लने ! मौसम (वेदर रिपोर्ट) पनि विदेशी नै हो तर त्यसलाई नेपाली समयअनुसार कन्भर्ट गरेर पठाइदिएको हुन्छ ।

कुन समयमा हावा चल्छ, कुन समय सुरक्षित हुन्छ । सोहीअनुसार समय चढ्नुपर्ने हुन्छ हामी क्याम्पमा पुग्दा भर्खरै ६ बजेको थियो तर एकै क्षणपछि सवा ८ बजेको देखायो । तत्काल आइफोन हेरें, त्यहाँ पनि ८ नै बजिरहेको छ । पाँच मीनेटअघि मात्र ६ बजिरहेको थियो घडीमा, उज्यालै छ, घाम डुबिसकेको छैन तर घडीमा उल्टो छ । घडी तिब्बतपट्टिको समय देखाएपछि त्यसलाई काठमाडौंको समयअनुसार मिलाएर चढ्नुपर्ने भयो । यस्तो देख्दा र भोग्दा मलाई एकदमै नमीठो र खल्लो लाग्यो । हाम्रो देशको गौरव, हाम्रो देशको सगरमाथा चढ्न आइएको छ । तर, अरूको देशको समय पछ्याउनुपर्ने बाध्यता छ । यसअघि हाम्र्रै देशको समयअनुसार चढ्दै आएका थियौँ । अरू बेला शिखरमा पुग्दा जुन गर्व, उत्साह महसुस हुन्थ्यो यसपटक उक्त गौरव क्षणभरमै चकनाचुर भयो ।

० चौथो क्याम्पमा छिमेकी देशको समय देखाउन थालेको कहिलेदेखि हो ? 

– शेर्पाहरूले खासै यस्ता विषय नोटिस गर्दैनन् / गर्ने फुर्सद पनि हुँदैन । मैले सुनेको अघिल्लो वर्ष/भोगेँ यस वर्ष । 

० नेपालको समयअनुसार समिट चढ्न नपाउँदा अर्थात् झण्डै सवा २ घण्टाको समय फरक हुँदा के–के अप्ठ्यारो पर्छ ? 

– हामी समिटमा उक्लनुपूर्व वेदर फोरकाष्ट हेर्छौं । जस्तो : बेलुका ६ बजेपछाडि वेदर ठीक हुन्छ भनिएको छ भने घडी हेर्दा आठ बजिसक्छ र सोही अनुसार शिखरतिर अगाडि बढ्नुपर्ने भयो । त्यसो हुँदा अप्रिय घटना हुन सक्छ । समिटमा आधा घण्टा फरकको मौसमले त धेरै प्रभाव पार्छ भने २ घण्टा त धेरै परको कुरा भयो । 

० यो विषय कहाँ‑कहाँ पुर्‍याउनुभयो ? 

– चौथो क्याम्पमा यो विषय थाहा पाएपछि । हामी शेर्पाबीच चर्चा÷परिचर्चा चल्यो । म भुइँमान्छे । मिडियामा पहुँच छैन । कुनै फोरम पाइएन भने आफ्नै सोसल मिडियामार्फत यो विषय सार्वजनिक गर्छु भन्ने योजना थियो । तर सगरमाथा दिवसको अवसरमा प्रज्ञा भवनमा अपेक्षित कार्यक्रममा मलाई आमन्त्रण गरिएको थियो । प्रधानमन्त्री, पर्यटनमन्त्री, वनमन्त्रीको उपस्थिति थियो । आरोहीको तर्फबाट बोल्ने अवसर पाएँ । त्यही प्लेटफर्ममा आफूले थाहा पाएको कुरा राखेँ । सरकारलाई यो विषयमा थाहा हुने कुरै भएन । सरकारका कुनै कर्मचारी माथि गएको छैन । मैले प्रत्यक्ष रूपमा देखे वा भोगेको कुरा उहाँहरूसमक्ष राखेँ । प्रधानमन्त्रीज्यूले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । वनमन्त्री, पर्यटनमन्त्रीहरूले यो विषयलाई उतिसाह्रो गम्भीर रूपमा लिएको पाइएन । हामी शेर्पाहरूलाई यसबाट देशकै डोमिनेट गरेको महसुस भएको छ । 

० अहिले पनि गुगल म्यापमा हेर्ने हो भने सगरमाथाको चुचुरो तब्बततिर देखाउँछ,  कत्तिको ख्याल गर्नुभएको छ! 

– हामीले सुनेदेखि नै सगरमाथाको चुचुरो नेपालमा छ । किन यसप्रकारको इस्यु उठेको हो ! नेपाल सरकारकै सहमतिमा चीनले त्यस्तो बनाएको हो वा चीनको एकल निर्णयमा यस्तो भएको हो ? 

० सगरमाथा आरोहण गर्न नेपालभन्दा चीनको उत्तरी मोहडाबाट सुरक्षित हुन्छ भन्ने सुनिन्छ, कारण के हो ? 

– सगरमाथा तिब्बत र नेपालको बीचमा पर्ने हिमाल हो । तिब्बततिरबाट पनि सगरमाथा चढ्न मिल्छ तर नेपालतर्फको मोहडाबाट चढेका क्लाइम्बर र तिब्बततर्फबाट आएकाको भेटचाहिँ शिखरमा मात्र हुन्छ । रुट फरक छ । उताको मोहडाबाट आरोहण धेरै हुन्छ, कारण अलि सुरक्षित मानिन्छ । हाम्रै नेपाली पनि विदेशी लिएर उक्त रुटबाट चढ्दै आएका छन् । साउथ साइडचाहिँ पूरै नेपाली भयो । चीनतिर ग्लेसियरहरू धेरै कम छ । रिस्क कम छ । समय नेट उतैको देखाउने हुँदा पनि अलि बढी सुरक्षित मानिन्छ । 

० चीनको एउटा मोबाइल कम्पनीले सगरमाथाको ६ हजार ५ सयभन्दा माथिको उचाइमा फाइभजीको नेटवर्क राखेको कारण समयको समस्या आएको भनिन्छ । के रहेछ वास्तविकता ? 

– चीनबाट नेटवर्कका टावरहरू ठाउँ ठाउँमा राखेको हुन सक्छ तर नेपालबाट नेटजिओ भन्ने संस्थाले वेदर स्टेशन भनेर साउथ कोल, बाल्कोनी र शिखरभन्दा करिब २५ मीटरमुनि टावर राखेको छ । त्यसले के–के ट्रयाक गर्छ थाहा भएन । 

० अहिले सगरमाथामा आरोहीको थेगिनसक्नु भीड देखिन्छ । सस्तो कीर्तिमान राख्ने होड, मानवीय अतिक्रमणका कारण सगरमाथाको अस्तित्व नै जोखिममा पुग्यो भन्ने पनि सुनिन्छ । के भन्छ, तपाईंको अनुभवले ? 

– २१ वर्षयता सगरमाथामा धेरै परिवर्तन भएको देखिन्छ । एक त माउन्टेन आफैं परिवर्तन भयो । ग्लेसियरहरू पनि पग्लिँदै गएको छ । २० वर्षअगाडि कतै पानी बगेको देखिँदैनथ्यो । अहिले दूधकोशीजस्तै गरेर खोला बगेको देख्न पाइन्छ । ग्लेसियर दब्दै गएको छ । पहिला बेस क्याम्पमै आइसको ठुल्ठूला ब्लक देखिन्थ्यो । अहिले हेर्ने हो भने आइस स–साना गमलाजत्रामा परिणत भएको देखिन्छ । लाग्छ,  अबको दश वर्षमा सबै हराएर जान्छ । आइस फर्म हुन कम्तीमा १२÷१५ हजार वर्ष लाग्छ भनिन्छ । ती आइसहरू धमाधम सबै बगेर गइसक्यो । ग्लोबल वार्मिङको असर सिरियस्ली हाम्रा हिमालयमा भएको देख्छु । एक मनले त भन्छ, सगरमाथालाई विश्रामको खाँचो छ । ग्लेसियरहरू पग्लिएका आरोहीका कारण मात्र होइन तर त्यहाँ नानाथरी रेकर्ड राख्ने प्रतिस्पर्धा चल्दै छ । विश्व रेकर्ड राख्नेको पर्दा पछाडिको पात्र हौं हामी । नाम राख्नेहरू कहाँ–कहाँ पुगे ।

० तपाईंलाई पनि रेकर्ड राख्ने भोक जागेन ? 

– सगरमाथामा दुईथरी आरोही छन् । एका थरी रेकर्ड खोजेर हिँड्ने, अर्काेथरी पेशा मात्र गरेर हिँड्ने । म दोस्रो खालको परे । रेकर्ड राख्ने हो भने धेरै थोक गर्न सक्थेँ । सगरमाथालाई हामी भगवान् मान्छौं । रेकर्ड धेरै राख्दा डोमिनेट गरेको महसुस हुन्छ मलाई । भन्नचाहिँ वल्र्ड रेकर्ड भन्ने तर देशकै इज्जत फाल्ने काम हुनुहुन्न भन्छु म । 

० तेञ्जिङ र हिलारीले सगरमाथा आरोहण गरेको सात दशक बित्यो । यो अवधिमा ८२७२ जनाले सगरमाथा आरोहण गरिसके । त्यसमा ५८० महिला रहेछन् । यो अवधिमा ३३२ जनाको ज्यान गुमेको देखियो । २ सयको शव अलपत्र परेको सुनिन्छ । के रहेछ वास्तविकता ? 

– नेपाल र तिब्बत दुवैतर्फ गर्दा २ सयजति लाश अलपत्र छन् । केही देखिन्छन्, केही बिलाएर गइसकेका छन् । नेपालभन्दा तिब्बततर्फको मोहडाबाट चढ्दा छ्यासछ्यास्ती लाश देखिन्छ । 

० सगरमाथामा झण्डै १४ हजार टन फोहोर थुप्रिएको छ भनिन्छ । फोहोरमुक्त सगरमाथा कसरी बनाउने ?  

– सबै आरोही अनुशासित भएनन् । विदेशी क्लाइम्बर आउँछन्, नेपाली कम्पनी छन् । त्यहाँ एक्सिपिडिसन कसले बढी चढाउने भन्ने अस्वस्थ्य प्रतिस्पर्धा चलिरहेको छ तर फोहोर सफा गर्नेतिर कसैको ध्यान छैन । बेस क्याम्पसमा एक टुक्रा पनि फाल्न पाइन्न । तर बढी फोहोरचाहिँ तेश्रो र चौथो क्याम्पमा छ । चार वर्षदेखि सेनाले सरसफाइ गर्दै आएको छ । सेना पनि बेसक्याम्पभन्दा माथि जान सक्दैन । उस्ले माथि थुप्रिएका फोहोर शेर्पाहरूलाई लगाएर तल ल्याउने हो । नेपाल सरकारले शुरु गरेको क्लिनिङ क्याम्पियन अभियान एकदमै राम्रो छ । सगरमाथा सरसफाइको विषयमा बेस क्याम्पमै वर्क सप चलाउनु जरुरी छ । यसो गर्न सकिएन भने ठूलो समस्या हुने पक्का छ । 

० सगरमाथा आरोहणका क्रममा तपाईंले भोग्नुभएको तीतो क्षण ? 

– एकै पटक आँखैअगाडि १६ जना बिते । ती सबै राम्रा साथी थिए । एकचोटी गाउँकै भतिज क्लाइम्बिङको क्रममा क्याम्प १ को खाल्डोमा छिरेर बित्यो । यी र यस्ता घटना देख्दा कहिलेकाँही त नर्कमै काम गरेको जस्तो महसुस हुन्छ । यो पेशा साह्रै असुरक्षित भयो, विकल्प खोज्छु भन्ने सोच्यो तर एडिक्ट यस्तो भइयो कि नशा नशामा छ । म जस्तो दुई दशक सगरमाथामा काम गर्ने पुस्ता अब आउन गाह्रो छ । एकातिर जलवायु परिवर्तन, क्लाइन्टसहरू टेनिङ नगरी आउनेहरू बढी । कहिलेकाँही एउटा ट्रिप सक्नका लागि नर्कमा गएर काम गरेको जस्तो महसुस हुन्छ । तीन महिना बितेको थाहै हुँदैन । पछिल्लो समय योङ शेर्पाको ड्रिम भनेको अरू पेशा खोज्ने छ । झण्डै ५ सय हाराहारी पलायन भए होला । अहिले सगरमाथा क्लाइम्बिक गर्ने शेर्पा ५ सय हाराहारी होलान् । मैले सगरमाथा आरोहण शुरु गर्दा तेञ्जिङ र हिलारीसँगै काम गरेकाहरु थिए । 

० सरकारले सगरमाथा आरोहणमा प्रत्येक टोलीसँग एक एक जना लियाजो अफिसर खटाउँछ ? उनीहरूको कामलाई राम्रै छ ? 

– धेरैचाहिँ भत्ताका लागि बेस क्याम्प पुग्ने, आफूलाई दिइएको जिम्मेवारीसमेत पूरा नगरी फर्किने गरेको देखेको छु । दुई–चार जनाले मात्र एकदमै खटेर काम गरेको अवस्था छ । लियाजो अफिसरहरूले आरोही टिम बेसक्याम्पमा पुगेपछि त्यहाँ अवैधानिक काम भइरहेको छ वा छैन ? कुन ट्रेकिङ कम्पनीबाट आएको हो ? गाइडहरूले बुझेको छ कि ? राम्रोसँग निरीक्षण गर्नुपर्ने हो तर बेसक्याम्पसम्म पुग्छन्, काठमाडौं फर्किन हतारो गर्छन् । झण्डै साढे तीन लाखसम्म कमाउन पाइने हुँदा राम्रा कम्पनी छानेर सगरमाथा जान कर्मचारीको होडबाजी चल्छ । एउटा गाइडले झण्डै तीन महिना रगत छादेर काम गर्दा मुस्किलले १५ लाख कमाउला तर लियाजो अफिसर एक दिन बेसक्याम्प पुग्छ, तीन लाखसम्म असुल्छ ।

४० वटा ग्रुप हुन्छन् भने ४० जना अफिसर किन चाहियो ? पर्यटन विभाग, मन्त्रालयले आफ्नो रेकर्ड हेरोस् र धेरै राम्रो काम गर्ने चार जनाका लागि एउटा बेसक्याम्पमा एउटा स्टेशन अफिस खडा गरेर उनीहरूलाई पूर्ण अधिकार दिई काम लगाओस् । यसपटक खिमलाल गौतम को–अर्डिनेटरका रूपमा बेस क्याम्पमा हुनुहुन्थ्यो । चौथो क्याम्पमा पुग्दा चीनतिरको समय देखाएको विषयमा शेयर गर्न खोजेको थिएँ तर हामी शिखरबाट झर्दा उहाँ काठमाडौं फर्किसक्नुभएको थियो । समिटबाट आरोहीहरू फर्कनुञ्जेल कर्मचारीहरू त्यहाँ रहिदिएको भए समस्या सुनाउन सकिन्थ्यो होला । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू