भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । प्रत्युत्तरमा मोदीले अनुकुल समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार प्रधानमन्त्री दाहालले भारतीय समकक्षीसँगको हिजोको भेटमा उक्त निम्तो दिनुभएको हो । प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नवनियुक्त विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री दाहालसँग उहाँ बसेकै होटलमा भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्री मोदीसँगको भेटमा दुई देशबीच विगतमा भएका सहमति तथा समझदारी कार्यान्वयन गर्न भारत सकारात्मक रहेको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । नयाँदिल्लीमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले दुईदेशीय संयन्त्र सक्रिय बनाउन, सीमा तथा व्यापार सम्झौतालगायत विषय वार्ता र संवादबाट समाधान गर्न सकिने धारणा राखेको बताउनुभयो।

गत वर्ष भएको पञ्चेश्वर परियोजनाका बाँकी काम टुंगो लगाउने र  नेपालका कृषि उत्पादनलाई भारतीय बजारमा सहज प्रवेशबारे पनि भारतीय प्रधानमन्त्रीसँगको भेटमा छलफल भएको जानकारी दिइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन हिजो नयाँ दिल्ली पुग्नु भएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किंदै हुनुहुन्छ ।
 

टिप्पणीहरू