मोदीसँग गहन कुराकानी भयो - प्रधानमन्त्री प्रचण्ड

मोदीसँग गहन कुराकानी भयो - प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा दुई देशबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनबारे छलफल भएको बताउनुभएको छ । 

भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै आज साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो जानकारी दिनुभएको हो । भ्रमणका दौरान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा मोदीसँग भेटवार्ता भएको र त्यसक्रममा द्विपक्षीय हित र चासोका विषयमा गहन कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

 

भेटघाटमा अन्य कुराका अलावा संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा छलफल भएको उहाँको भनाई छ । त्यस्तै, मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको र उपयुक्त समयमा भ्रमण गर्ने प्रतिवद्धता प्राप्त भएको पनि उहाँले जानकारी दिनुभयो । 

त्यस्तै, नवनियुक्त संघीय मन्त्री डा. एस. जयशंकरसँगको भेटमा दुइ देशबीच  व्यापार विस्तार, नेपालमा भारतीय लगानी बढाउने जस्ता विषयमा पनि सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीले सुनाउनुभयो ।

तेस्रो कार्यकाल प्रधानमन्त्री नियुक्त हुनुभएका मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन उहाँ हिजो नयाँ दिल्ली पुग्नुभएको थियो ।

टिप्पणीहरू